राहत पठाउँदै हुनुहुन्छ ? फर्जी QR र लिंकको फन्दामा नपर्नुस्, ठगी हुनसक्ने भन्दै नेपाल प्रहरीको सचेतना

राहत पठाउँदै हुनुहुन्छ ? फर्जी QR र लिंकको फन्दामा नपर्नुस्, ठगी हुनसक्ने भन्दै नेपाल प्रहरीको सचेतना

काठमाडौं, । रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट ठूलो जनधनको क्षति भएपछि उद्धार तथा राहतका काम भइरहेका बेला नेपाल प्रहरीले राहत सहयोगका नाममा हुनसक्ने साइबर स्क्यामबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

नेपाल प्रहरीले विपद्को संवेदनशील अवस्थाको फाइदा उठाउँदै ठगी गर्ने समूहले सामाजिक सञ्जाल तथा डिजिटल माध्यम प्रयोग गरी फर्जी राहत कोष, क्यूआर कोड, बैंक खाता र लिंकमार्फत रकम असुल्न सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको हो।

“प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” वा “प्रधानमन्त्री राहत कोष”को नाम दुरुपयोग गरी व्यक्तिगत बैंक खाता वा ई–वालेटमा रकम माग्ने, सरकारी निकायको लोगो तथा नाम नक्कल गरी फर्जी क्यूआर कोड बनाउने र फेसबुक, ह्वाट्सएप, टिकटक, इन्स्टाग्राम तथा भाइबरमा नक्कली राहत अभियान सञ्चालन गर्न सक्ने प्रहरीले जनाएको छ।

त्यस्तै, ‘राहत सहयोग दर्ता’का नाममा फोन गरेर व्यक्तिगत तथा बैंकिङ विवरण माग्ने, फिसिङ लिंक पठाएर ओटीपी तथा पासवर्ड चोरी गर्ने र ‘म सुरक्षित छु, पैसा पठाइदिनु’ भन्दै अपरिचित नम्बरबाट रकम माग्ने गतिविधिप्रति समेत सचेत रहन प्रहरीले आग्रह गरेको छ।

राहत रकम पठाउनुअघि सम्बन्धित कोषको बैंक खाता तथा अन्य विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइट वा प्रमाणित सामाजिक सञ्जालबाट मात्र पुष्टि गर्न प्रहरीले अनुरोध गरेको छ।

अपरिचित व्यक्ति वा पेजबाट प्राप्त क्यूआर कोड, लिंक वा बैंक खाता नम्बरमा तत्काल रकम नपठाउन तथा कसैले फोन वा म्यासेजमार्फत बैंक खाता, कार्ड विवरण, पिन वा ओटीपी मागेमा कुनै पनि अवस्थामा उपलब्ध नगराउन प्रहरीले भनेको छ।

विपद्को नाममा साइबर ठगी भएको वा हुन लागेको शंका लागेमा तुरुन्त नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा सम्पर्क गर्न समेत नेपाल प्रहरीले अनुरोध गरेको छ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार

//omg10.com/4/6824010