यज्ञप्रसाद सापकोटा
गुलरिया (बर्दिया), असोज ११ गते । सर्जु नदीमा आएको बाढीले बर्दियाको गुलरिया नगरपालिकाका दुई स्थानका २० घर प्रभावित भएका छन् । नदीको डुबानमा परेपछि गुलरिया–८ टपरा टोलका १५ घरधुरी विस्थापित भएका छन् ।
डुबानबाट विस्थापित परिवारलाई गुलरिया नगरपालिकाले निर्माणाधीन औद्योगिक ग्राममा अस्थायी रूपमा राखेको छ । प्रहरीका अनुसार टपरा टोलका अधिकांश कच्ची घरमा पानी पसेर क्षति पुगेको छ ।
त्यसैगरी लगातारको वर्षाका कारण गुलरिया नगरपालिका–१ छेदापुरका पाँच कच्ची घरमा पानी पसेको छ । प्रभावित परिवारलाई सुरक्षित स्थानका रूपमा विद्यालयमा राखिएको प्रहरीले जनाएको छ ।
बाँसगढी नगरपालिका– क्षेत्रमा पनि वर्षाका कारण घरमा क्षति पुगेको छ । बाँसगढी नगरपालिका– रेशमटोलका जलबहादुर चौधरीको घरको भित्ता भत्किँदा च्यापिएर बंगुर मरेका छन् ।
जिल्लाका विभिन्न स्थानमा वर्षा र डुबानका कारण सामान्य क्षति भए पनि हालसम्म मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहोराले बताउनुभयो ।
प्रहरीका अनुसार प्रभावित क्षेत्रमा अवस्था निगरानी तथा आवश्यक उद्धार र व्यवस्थापनको काम भइरहेको छ ।
