राहतका नाममा व्यक्तिगत क्यूआरबाट रकम उठाउन खोज्ने पक्राउ
हेटौँडा, भदौ १२ गते । रसुवा बाढीपीडितका लागि भन्दै व्यक्तिगत बैंक खाताको क्यूआर कोड सामाजिक सञ्जालमा सार्वजनिक गरी रकम सङ्कलन गर्न खोज्ने एक जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार व्यक्तिगत तलब खाताको क्यूआर कोडमार्फत राहत तथा सहयोग रकम उठाउन खोजेको उजुरी परेपछि ती व्यक्तिलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका व्यक्तिको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन ।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले विपद्का बेला राहतका नाममा हुने ठगीबाट सचेत रहन आग्रह गर्दै सरकारी निकाय वा आधिकारिक संस्थामार्फत मात्र सहयोग गर्न अनुरोध गर्नुभएको छ ।
उहाँले व्यक्तिगत बैंक खाता वा क्यूआर कोड प्रयोग गरी राहत रकम सङ्कलन नगर्नसमेत आग्रह गर्नुभएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले राहत सङ्कलन र वितरणमा एकरूपता कायम गर्न आग्रह गर्नुभएको छ । उहाँले आफूखुसी राहत सङ्कलन तथा वितरण नगरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न र त्यसको विवरण जिल्ला विपद् व्यवस्थापन समितिलाई उपलब्ध गराउन अनुरोध गर्नुभएको छ ।
