एसईईमा चम्कियो सोसियल वोर्डिंग,९६.५५ नतिजा सहित बुद्धभूमि मै नम्वर १

Advertisement

कपिलवस्तु, जेठ १ गते ।

बुद्धभूमि नगरपालिका–२, गोरुसिङ्गेमा रहेको सोसियल इंग्लिस बोर्डिङ स्कुल बुद्धभूमि–२ गोरुसिङ्गे कपिलवस्तु ले यस वर्षको एसईई २०८२ परीक्षामा नगरपालिकाकै प्रथम स्थान हासिल गर्दै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । विद्यालयले यस वर्ष ५८ जना विद्यार्थी एसईई परीक्षामा सहभागी गराएकोमा ९६.५५ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन् । यसले विद्यालयको शैक्षिक गुणस्तर र निरन्तर सुधारलाई झल्काएको छ ।

विद्यालयका अनुसार ३.६ देखि ४ जीपीए ल्याउने ११ जना विद्यार्थी रहेका छन् भने ३.२ देखि ३.६ जीपीए ल्याउने २० जना विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गरेका छन् । विद्यालयकी छात्रा लतिशा श्रेष्ठले ३.९५ जीपीए प्राप्त गर्दै नगरपालिकाभित्र प्रथम स्थान हासिल गर्न सफल भएकी छन् । उनको यो उपलब्धिले विद्यालयको गौरवलाई थप उचाइमा पुर्‍याएको छ ।

विद्यालयका प्रिन्सिपल रमेश गौतमले अनुशासित शैक्षिक वातावरण, दक्ष शिक्षक टोली, नियमित अतिरिक्त कक्षा तथा आधुनिक शिक्षण पद्धतिका कारण विद्यालयले निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको बताउनुभयो । उहाँका अनुसार विद्यालयले पढाइसँगै नैतिक शिक्षा, नेतृत्व विकास, प्रविधिमैत्री सिकाइ र अतिरिक्त क्रियाकलापलाई समेत प्राथमिकता दिँदै आएको छ ।

सोसियल इंग्लिस बोर्डिङ स्कुलले पछिल्ला वर्षहरूमा बुद्धभूमि क्षेत्रमा अभिभावकहरूको रोजाइको विद्यालयका रूपमा आफ्नो पहिचान बनाउँदै आएको छ । विद्यालय प्रशासनले आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्दै विद्यार्थीको भविष्य निर्माणमा थप समर्पित रहने प्रतिबद्धता जनाएको छ ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार