कपिलवस्तु, भदौ १० गते । कपिलवस्तुमा सशस्त्र प्रहरीले १० लाख ८२ हजार रुपैयाँ मूल्य बराबरको भन्सार छली ल्याइएको अवैध औषधी बरामद गरेको छ । सीमा क्षेत्रको दशगजा नजिकै लुकाएर राखिएको अवस्थामा विभिन्न प्रकारका महँगा औषधी बरामद गरिएको हो ।
कृष्णनगरस्थित सशस्त्र प्रहरी गणबाट सशस्त्र प्रहरी नायब उपरीक्षक द्वारिका केसीको कमान्डमा खटिएको टोलीले बुधवार बिहान ११ बजे विशेष सुराकीका आधारमा औषधी बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल २८ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले बताउनुभयो ।
बरामद औषधीमा क्यान्सर उपचार, नवजात शिशुको उपचार तथा उच्च रक्तचापलगायतका रोगमा प्रयोग हुने औषधी रहेका छन् । सशस्त्र प्रहरीका अनुसार पोली डी २ सय २२ बोतल, सिपमिडो ६९ पिस, नियोसर्फ २० बक्स, माइकोफिट १४ बक्स, प्याजिनिभ ४ बक्स, भिभ्याट १ बक्स र विभेट्यास १ बक्स बरामद गरिएको हो ।
सीमा क्षेत्रमा लुकाएर राखिएको अवस्थामा बरामद भएको औषधी भन्सार छली गरी नेपाल भित्र्याइएको आशङ्का गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद औषधी आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालयमा बुझाइएको छ ।
फोटो क्याप्सन : बरामद औषधी सार्वजनिक गर्दै सशस्त्र प्रहरी । तस्बिर : जानु पाण्डे
