पूर्व नगर प्रमुख किरण सिंह अझै बेपत्ता, प्रहरी कुकुरसहित खोजी अभियान तीव्र

पूर्व नगर प्रमुख किरण सिंह अझै बेपत्ता, प्रहरी कुकुरसहित खोजी अभियान तीव्र

नारद कोहार
तौलिहवा (कपिलवस्तु), साउन २३ गते

कपिलवस्तु नगरपालिकाका पूर्व नगर प्रमुख किरण सिंह अझै सम्पर्कविहीन रहेपछि उनको खोजी अभियान शनिबार बिहानदेखि पुनः तीव्र बनाइएको छ। शुक्रबार राति करिब २ बजेसम्म व्यापक खोजी गर्दा पनि कुनै सुराक नलागेपछि रोकिएको अभियान बिहानैदेखि पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गोरुसिङ्गेबाट परिचालित संयुक्त प्रहरी टोलीले ढेकहरी क्षेत्रसहित विभिन्न सम्भावित स्थानमा खोजी गरिरहेको छ। खोजीलाई प्रभावकारी बनाउन भैरहवा विमानस्थलबाट तालिमप्राप्त प्रहरी कुकुरसमेत ल्याएर परिचालन गरिएको प्रहरीले जनाएको छ।

शुक्रबार राति प्रहरी, स्थानीय बासिन्दा र स्वयंसेवकसहितको ठूलो टोलीले ढेकहरी क्षेत्र वरपरका जंगल, खेत तथा अन्य सम्भावित स्थानमा खोजी गरेको थियो। तर राति अबेरसम्म गरिएको प्रयासबाट पनि सिंहको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेन।

प्रहरीका अनुसार पूर्व नगर प्रमुख सिंहले ढेकहरी क्षेत्रमा व्यावसायिक कृषि फार्म सञ्चालन गर्ने तयारी गरिरहेका थिए। त्यस क्षेत्रको नियमित आवतजावत भएकाले उनी शुक्रबार त्यतै गएको अनुमान गरिएको छ। त्यसयता उनी परिवार र आफन्तको सम्पर्कमा नआएपछि खोजी अभियान सुरु गरिएको हो।

उनी कसरी र कुन परिस्थितिमा सम्पर्कविहीन भए भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टले सम्भावित सबै स्थानमा खोजी अभियानलाई तीव्र बनाइएको र सिंहको अवस्थाबारे जानकारी सङ्कलन गर्ने कार्य जारी रहेको बताउनुभयो।

घटनाले कपिलवस्तुमा व्यापक चासो र चिन्ता उत्पन्न गरेको छ भने परिवार, आफन्त र स्थानीय बासिन्दाले सिंहको सकुशल फेला पर्ने आशा व्यक्त गरेका छन्।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार

//omg10.com/4/6824010