सुग्रिव बरई
कपिलवस्तु । भारतबाट नेपालतर्फ युरिया मल तस्करी गर्दै आएका एक नेपाली नागरिक सीमा क्षेत्रमा पक्राउ परेका छन्। भारत–नेपाल सीमामा निगरानी बढाइएका बेला सशस्त्र सीमा बल (एसएसबी) र उत्तर प्रदेश प्रहरीको संयुक्त टोलीले ६ बोरा युरिया मल र दुईवटा साइकल बरामद गर्दै एक जनालाई नियन्त्रणमा लिएको हो।
बिहीबार खुनुवा सीमा चौकीअन्तर्गत सीमा स्तम्भ नम्बर ५५५ नजिकै संयुक्त टोलीले भारतबाट नेपालतर्फ साइकलमा मल ल्याइरहेका दुई जनालाई देखेपछि रोक्न खोजेको थियो। तर टोलीलाई देख्नेबित्तिकै एक जना साइकल र मल छाडेर नेपालतर्फ फरार भएका थिए। अर्का व्यक्तिलाई भने घटनास्थलमै नियन्त्रणमा लिइएको एसएसबीले जनाएको छ।
पक्राउ पर्ने व्यक्ति कपिलवस्तुको यशोधरा गाउँपालिका–८ निवासी ४४ वर्षीय परमात्मा वनिया रहेको खुलेको छ। उनको साथबाट ६ बोरा युरिया मल बरामद गरिएको छ।
प्रारम्भिक सोधपुछमा वनियाले सोहरतगढबाट युरिया मल खरिद गरी नेपालमा बढी मूल्यमा बिक्री गर्ने उद्देश्यले ल्याउँदै गरेको स्वीकार गरेका थिए। आवश्यक भन्सार कागजात प्रस्तुत गर्न नसकेपछि मल र साइकल दुवै नियन्त्रणमा लिइएको हो।
एसएसबीका अनुसार पक्राउ परेका व्यक्ति र बरामद सामग्रीलाई आवश्यक कानुनी कारबाहीका लागि सीमा शुल्क कार्यालय खुनुवाको जिम्मा लगाउने प्रक्रिया सुरु गरिएको छ।
भारत–नेपाल सीमामा पछिल्लो समय मल, लागुऔषध, अवैध मुद्रा, वन्यजन्तु तथा अन्य प्रतिबन्धित सामग्रीको तस्करी नियन्त्रण गर्न संयुक्त निगरानी र सुरक्षा अभियान थप कडाइका साथ सञ्चालन भइरहेको सुरक्षा अधिकारीहरूले बताएका छन्।
