कपिलवस्तु, साउन १९ गते। ‘जेलबाट तपाईंको छोरालाई छुटाइदिन्छु, अदालत र प्रहरीमा मेरो पहुँच छ।’ यही आश्वासन दिएर एक व्यक्तिबाट पाँच लाख ६२ हजार रुपैयाँ असुलेको आरोपमा कपिलवस्तु प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा शिवराज नगरपालिका–५ बालानगर निवासी ३६ वर्षीय जग्गु तेली रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार बाणगंगा नगरपालिका–४ गजेहडा निवासी ६५ वर्षीय अब्दुल मोविन मुसलमानका छोरा अकबर अली सवारी ज्यानसम्बन्धी कसुर मुद्दामा कारागार कार्यालय तौलिहवामा रहेका थिए। सोही अवस्थाको फाइदा उठाउँदै तेलीले विभिन्न सरकारी निकायमा आफ्नो पहुँच रहेको दाबी गर्दै मुद्दा मिलाइदिने र जेलबाट छुटाइदिने प्रलोभन देखाएका थिए।
प्रहरीका अनुसार उनले विभिन्न मितिमा पटक–पटक गरी पाँच लाख ६२ हजार रुपैयाँ लिएका थिए। रकम दिएपछि पनि कुनै काम नभएपछि पीडितले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दिएका थिए।
जाहेरीपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तथा इलाका प्रहरी कार्यालय बहादुरगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले तेलीलाई शिवराज नगरपालिका–७ रुपपुर क्षेत्रबाट पक्राउ गरेको हो।
उनीविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। कपिलवस्तु जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

