खोला बगायो ११ वर्षीय छोरा, छोराको वियोग सहन नसकेर आमाले पनि रोजिन् मृत्यु

Advertisement

इलाम, साउन १९ गते। बिहान विद्यालय गएका ११ वर्षीय छोरा साँझ घर फर्किएनन्। उर्लिएको खोलाले उनलाई सधैंका लागि खोस्यो। छोराको मृत्युको पीडा सहन नसकेकी आमाले केही घण्टामै आफ्नै जीवन अन्त्य गरिन्। इलामको माईजोगमाई गाउँपालिका–२ मा सोमबार भएको यो घटनाले एउटा परिवार मात्र होइन, सिंगो गाउँलाई शोकमा डुबाएको छ।

स्थानीय बजुर खोलाले विद्यालयबाट घर फर्कने क्रममा ११ वर्षीय आहान खत्रीलाई बगाएको थियो। आहानको मृत्यु भएपछि उहाँकी आमा ३५ वर्षीया अमृता लाप्चा खत्री बेपत्ता हुनुभएको थियो। खोजी गर्ने क्रममा उहाँलाई घरदेखि करिब १०० मिटर पश्चिमतर्फ रहेको निवराको रुखमा प्लास्टिकको डोरीको पासो लगाएको अवस्थामा मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी निरीक्षक देवीदत्त मोतेले जानकारी दिनुभयो।

गुल्मी स्थायी घर भएका आहान विगत ८–९ वर्षदेखि आमासँगै माईजोगमाई–२ स्थित मामाघरमा बस्दै आउनुभएको थियो। मृतक आहानका बुबा अनिल खत्री वैदेशिक रोजगारीमा रहेको बताइएको छ।

प्रहरीले दुवै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार