म्याग्दी । नेपालका प्राकृतिक सम्पदामध्ये रुप्से झरना यस्तो गन्तव्य हो, जहाँ पुगेपछि फेरि–फेरि जान मन लाग्छ। तल कालीगण्डकी नदीले बनाएको गहिरो गल्छी, माथि अग्लो भीरबाट गर्जिंदै झर्ने झरना र वरिपरिको हरियालीले रुप्सेको सौन्दर्यलाई अनुपम बनाएको छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको रुप्से झरना कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङ जाने पर्यटकका लागि प्रमुख आकर्षण बनेको छ। सडकछेउमै रहेको झरनाको मनोरम दृश्यले यात्रुलाई केहीबेर रोकिएर प्रकृतिको आनन्द लिन बाध्य बनाउँछ।
मनसुनका कारण अहिले झरनाको बहाव निकै बढेको छ। भीरबाट ठूलो गर्जनसहित खस्ने पानी, झरनाबाट उड्ने पानीका छिटा र कालीगण्डकी गल्छीको मनमोहक दृश्यले रुप्सेलाई झनै आकर्षक बनाएको छ। यहाँ पुगेका धेरै पर्यटकले तस्बिर र भिडियो खिच्दै सामाजिक सञ्जालमा रुप्सेको सौन्दर्य साझा गर्ने गरेका छन्।
स्थानीय व्यवसायीका अनुसार पर्यटकीय याममा हजारौँ स्वदेशी तथा विदेशी पर्यटक रुप्से झरनामा पुग्ने गर्छन्। प्राकृतिक सौन्दर्य, हिमाली वातावरण र सहज पहुँचका कारण रुप्से झरना म्याग्दीको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ।
एकपटक रुप्से पुगेर झरनाको गर्जन सुन्ने र कालीगण्डकी गल्छीको अनुपम दृश्य हेर्ने जोकोहीको मनमा फेरि रुप्से फर्किने चाहना जाग्ने गरेको स्थानीयहरू बताउँछन्।

