कपिलवस्तुमा तीन जना सवार मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
कपिलवस्तु, साउन १८ गते । कपिलवस्तुको कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
आइतबार अपराह्न करिब ४:३० बजे शिवपुराबाट जगदीशपुरतर्फ जाँदै गरेको लु प्र ०१–००३ प १५६१ नम्बरको मोटरसाइकल भित्री सडकखण्डमा आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकलमा सवार कपिलवस्तु नगरपालिका–६ गोबरी निवासी २५ वर्षीय मुरेली यादव गम्भीर घाइते भएका थिए। टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि कपिलवस्तु अस्पताल तौलिहवा लगिएकोमा चिकित्सकले साँझ ५:३५ बजे मृत घोषणा गरेका हुन्।
दुर्घटनामा सोही स्थानका २९ वर्षीय प्रतिक जैसवाल घाइते भएका छन्। उनको टाउको र दुवै हातमा चोट लागेको छ। उनलाई थप उपचारका लागि युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल, भैरहवा रिफर गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले बताउनुभयो।
मोटरसाइकल चालक कपिलवस्तु नगरपालिका–६ गोबरी निवासी करिब २५ वर्षीय अक्षय श्रीवास्तव दुर्घटनापछि फरार रहेका छन्। उनको खोजी कार्य जारी रहेको र दुर्घटनामा परेको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक ढकालले जानकारी दिनुभयो।

