पहिरोले चार तले पक्की घर बगायो

Advertisement

अविरल वर्षापछि गएको पहिरोले गोरखा नगरपालिका–९ लक्ष्मीबजार दिवामार्गस्थित एक चारतले पक्की घर जगसहित बगाउँदा एक जना घाइते भएका छन्।

सोमबार बिहान परेको अविरल वर्षापछि स्थानीय मानसिंह गुरुङको चारतले पक्की घर पहिरोसँगै करिब १५–२० मिटर तल बगेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

घर बग्ने क्रममा उक्त घरमा डेरा गरी बस्ने रौतहटको कटहरिया नगरपालिका–७ घर भएका ५८ वर्षीय टोखान महतो घरभित्रै रहेका बेला घाइते भएका हुन्। त्यस्तै, नजिकै रहेको कृष्णदेव महतोको चारतले पक्की घरमा पनि आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी टोली, सशस्त्र प्रहरी बल र स्थानीयवासी उद्धारमा खटिएका थिए। बिहान करिब ११ बजे महतोलाई सकुशल उद्धार गरी थप उपचारका लागि प्रदेश अस्पताल गोरखा पठाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार महतोको पेट र खुट्टामा सामान्य चोट लागेको छ। उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको गोरखा अस्पतालले जनाएको छ।

लगातारको वर्षासँगै पहिरोको जोखिम बढ्दै गएकाले जिल्ला प्रशासन कार्यालय गोरखाले पहिरो प्रभावित तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। आवश्यक परे सुरक्षित स्थानमा सर्न र मौसम तथा विपद्सम्बन्धी सूचनाको नियमित जानकारी लिन सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आग्रह गर्नुभयो।

घटनापछि पहिरो क्षेत्रको थप क्षतिको सम्भावना मूल्याङ्कन, सुरक्षा व्यवस्थापन तथा निगरानीको काम जारी रहेको छ। जोखिमका कारण लक्ष्मीबजारदेखि लुदी खोलासम्मको सडक पूर्ण रूपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो।

पहिरोले घर बगाएपछि मानसिंह गुरुङको करोडौँ रुपैयाँ बराबरको घर पूर्ण रूपमा क्षति भएको छ। घर गुमेपछि गुरुङ परिवार अहिले ठूलो समस्यामा परेको छ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार