जानु पाण्डे
कपिलवस्तु, असार ४ गते। कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ स्थित गुर्डुङ खोलामा मृत अवस्थामा फेला परेकी महिला बुद्धभूमि नगरपालिका–४ भगिरामपुर निवासी ८० वर्षीया रुपासेन वली रहेको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार वली केही समयदेखि आफ्नी छोरी जमुना केसीको घरमा बस्दै आएकी थिइन्। बिहीबार बिहान उनी कसैलाई जानकारी नदिई घरबाट निस्किएकी थिइन्।
स्थानीयवासीले गुर्डुङ खोलामा एक महिला मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय गोरुसिंगेबाट प्रहरी निरीक्षक बाबुराम बस्नेतको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीले घटनास्थलमा मृतकको कपडा र झोला पुलको छेउमा रहेको फलामको पोलमा राखिएको अवस्थामा फेला पारेको जनाएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा उनी नुहाउन खोलामा गएको हुन सक्ने अनुमान गरिएको भए पनि मृत्युको वास्तविक कारण पोस्टमार्टम प्रतिवेदन र थप अनुसन्धानपछि मात्र यकिन हुने प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

