कपिलवस्तु, साउन १८ गते । कपिलवस्तुमा आयुर्वेदिक महत्त्व बोकेको बिजयसाल (विजयसार) काठबाट निर्मित हस्त निर्मित गिलासको व्यावसायिक उत्पादन सुरु गरिएको छ । कपिलवस्तु नगरपालिका–४ तौलिहवास्थित बिन्धबासिनी काष्ठ उद्योगले प्राकृतिक बिजयसाल (Pterocarpus marsupium) काठबाट हस्त निर्मित गिलास उत्पादन गरी बजारमा ल्याएको जनाएको छ ।

नेपाली परम्परा, प्राकृतिक जीवनशैली र स्थानीय हस्तकलालाई प्रवद्र्धन गर्ने उद्देश्यले गिलास उत्पादन सुरु गरिएको हो । नेपाली दक्ष कारिगरद्वारा तयार गरिएका यी गिलास घरायसी प्रयोग, कार्यालय तथा उपहारका रूपमा समेत प्रयोग गर्न सकिने उत्पादक तथा वन क्याम्पस पोखराका स्ववियु सभापति अभिषेक शर्माले बताउनु भयो ।
आयुर्वेदमा बिजयसार काठको विशेष महत्त्व रहेको उल्लेख पाइन्छ । आयुर्वेदिक अभ्यास अनुसार बिजयसालको भाँडोमा रातभर पानी राखी बिहान खाली पेट पिउने चलन नेपाल तथा भारतका विभिन्न स्थानमा अझै पनि प्रचलित छ । त्यो पानी पिउँदा शरीरको प्राकृतिक सन्तुलन कायम राख्न, पाचन प्रणालीलाई सहज बनाउन, शरीरमा ताजगी र स्फूर्ति प्रदान गर्न तथा रगतमा चिनी (सुगर) को सन्तुलन कायम राख्न सहयोग पु¥याउने कपिलवस्तुका आयुर्वेदिक स्वास्थ्यकर्मी गोपाल बन्जाडेले बताउनुभयो ।
पछिल्लो समय प्राकृतिक जीवनशैली अपनाउने र रासायनिक सामग्रीको प्रयोग कम गर्ने उपभोक्ताको रुचि बढ्दै गएकाले सुरुवाती चरणमा गिलास उत्पादन सुरु गरिएको हो । त्यस पछी अन्य प्रकारका सामाग्री बनाउने बताईएको छ । उत्पादन गरिएका सामाग्रीलाई भविष्यमा अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्ने लक्ष्य रहेको शर्माले बताउनुभयो ।
गिलास खरिद गर्नको लागी ९८६७५९८६६९ मा सम्पर्क गर्न सक्नु हुने छ ।

