कपिलवस्तु ।
थारु समुदायको नयाँ वर्षको अवसरमा कपिलवस्तुमा माघी महोत्सवको तयारी तीव्र बनेको छ। माघी पर्वलाई समुदायस्तरमा मनाउने उद्देश्यले वडा तथा पालिका स्तरमा विभिन्न महोत्सव आयोजना हुँदैछन्।
यसैक्रममा बुद्धभूमि नगरपालिका–४ स्थित बुड्ढी तालमा आठौँ बुद्धभूमि माघी (खिचडी) महोत्सव आयोजना हुने भएको छ। थारु कल्याणकारिणी सभा बुद्धभूमि नगर समितिको आयोजनामा तथा थारु सांस्कृतिक संरक्षण समिति (थाकस) को सहआयोजनामा पौष २९ गतेदेखि माघ १ गतेसम्म महोत्सव सञ्चालन हुनेछ।
महोत्सवको उद्घाटन थारु कल्याणकारिणी सभाका केन्द्रीय उपाध्यक्ष विश्राम प्रसाद थारुले गर्ने तय भएको छ। महोत्सवमा थारु परिकार, झुमरा नृत्य, झर्रा झाँकीलगायत मौलिक सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने आयोजकले जनाएका छन्।
आयोजकका अनुसार माघी महोत्सवले थारु समुदायको संस्कृति, परम्परा र पहिचान संरक्षण तथा स्थानीय पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

