तनहुँमा तीन जनाको विभत्स हत्या, घटनास्थल तनावग्रस्त

Advertisement

तनहुँ, पुस २६ गते । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ कसेरीघाटस्थित फोहोरमैला प्रशोधन केन्द्र नजिक तीन जनाको विभत्स हत्या भएको खुलासा भएको छ। शनिबार बिहान दुई जना पुरुष र केही घण्टापछि एक जना महिला मृत अवस्थामा फेला परेपछि क्षेत्र तनावग्रस्त बनेको छ।

इलाका प्रहरी कार्यालय बेलचौतारालाई शनिबार बिहान करिब साढे ९ बजे फोहोरमैला प्रशोधन केन्द्रका एक कर्मचारीले दुई जना पुरुष मृत अवस्थामा भेटिएको जानकारी गराएका थिए। प्रहरी टोली घटनास्थल पुग्दा प्रशोधन केन्द्रको कम्पाउन्ड बाहिर दुई पुरुषको शव फेला परेको थियो। प्रारम्भिक अनुसन्धानमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको देखिएको प्रहरीले जनाएको छ।

मृतकमध्ये एक जना शुक्लागण्डकी नगरपालिका–११ पाल्पालीछाप निवासी अन्दाजी ४० वर्षीय नारायण विक भएको खुलेको छ। उहाँ शुक्लागण्डकी नगरपालिकासँग सम्झौता गरी फोहोरमैला प्रशोधन केन्द्र सञ्चालन गरिरहेको ग्रिन रोड प्रालिका कर्मचारी हुनुहुन्थ्यो। उहाँ यही महिनादेखि प्रशोधन केन्द्रमै बसेर काम गर्दै आउनुभएको थियो भने करिब तीन महिनादेखि उक्त केन्द्रमा कार्यरत रहनुभएको थियो।

अर्का मृतक पुरुषको पहिचान हालसम्म खुल्न सकेको छैन। उनी पनि प्रशोधन केन्द्र बाहिर टहरा बनाएर बस्दै आएका व्यक्ति थिए।

दुई पुरुष मृत फेला परेपछि उनीहरूसँगै बस्दै आएकी एक महिला अचानक सम्पर्कविहीन भएपछि थप शङ्का उत्पन्न भएको थियो। प्रहरी र स्थानीयले खोजी गर्ने क्रममा शनिबार दिउँसो करिब १२ बजे ती महिला पनि मृत अवस्थामा फेला परेकी हुन्। महिलाको शव दुई पुरुष भेटिएको स्थानबाट करिब सात सय मिटर टाढा जनकल्याण माध्यमिक विद्यालय पछाडि कसेरीघाटको जङ्गलमा फेला परेको प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार महिला र पहिचान नखुलेका पुरुष दुवै जना बजार क्षेत्रबाट सङ्कलन गरिएको फोहोर छानेर कवाडी संकलन गरी जीवनयापन गर्दै आएका थिए र करिब एक वर्षदेखि सोही टहरामा बस्दै आएका थिए।

शुक्लागण्डकी नगरपालिका–५ का वडाध्यक्ष दीर्घबहादुर थापाका अनुसार तीनै जनाको शव अत्यन्त विभत्स अवस्थामा फेला परेको छ। “नारायण विकको पेटमा गम्भीर चोट देखिएको छ, टाउकोमा पनि प्रहार भएको छ,” उहाँले भन्नुभयो, “पहिचान नखुलेका पुरुषको पेटबाट आन्द्रासमेत बाहिर निस्किएको थियो भने महिलाको घाँटी रेटिएको अवस्थामा शव भेटिएको छ।”

घटनाबारे जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकले तीन जनाको हत्या योजनाबद्ध देखिएको बताउनुभयो। उहाँका अनुसार एकै स्थानमा दुई पुरुष र केही पर महिला मृत अवस्थामा भेटिनु, प्रयोग भएको हतियार र शवको अवस्थाले घटनाको प्रकृति अत्यन्त गम्भीर देखिएको छ। घटनाको सत्य–तथ्य पत्ता लगाउन जिल्ला प्रहरी कार्यालयबाट विशेष अनुसन्धान टोली परिचालन गरिएको र हत्यामा संलग्न व्यक्तिको खोजी तीव्र पारिएको उहाँले जानकारी दिनुभयो।

इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक धननारायण श्रेष्ठका अनुसार गण्डकी प्रदेश प्रहरीको प्राविधिक टोली र तालिम प्राप्त कुकुरसहितको टोली घटनास्थलमा खटिएर प्रमाण सङ्कलन तथा अनुसन्धान गरिरहेको छ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीसहितको टोलीले दिनभर घटनास्थलको अनुगमन गरेको प्रहरीले जनाएको छ।


By एन टी एन ब्युरो

उस्तै खालका समाचार