पाँचौँ बुद्धभूमि महोत्सव अन्तरगत आयोजना गरिएको बुद्धभूमि डान्स आइडियल प्रतियोगितामा एलीसा थारु विजेता घोषित भएकी छन्। उत्कृष्ट नृत्य प्रस्तुति मार्फत प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनले ‘पाँचौँ डान्स आइडियल’ को उपाधि हात पारिन्।
विजेताका रूपमा एलीसाले २ लाख रुपैयाँभन्दा बढी मूल्यको इलेक्ट्रिक स्कुटर पुरस्कार प्राप्त गरिन्। फस्ट रनरअप बनेकी समिरा कुवँर ले ५० हजार रुपैयाँ र सेकेन्ड रनरअप विदुरी घिमिरे ले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। सान्त्वना उपाधि दुर्गेश बी.के. ले हात पारे। पुरस्कृत हुनेलाई आयोजक बुद्धभूमि उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष विष्णु पौडेलले बधाई ज्ञापन गर्नु भएको थियो ।
विजेताहरूलाई सम्मान समारोहका क्रममा उपहार प्रायोजक तथा महोत्सवका व्यवस्थापक यम प्रताप थापा ले चाँदीको ताज लगाइदिएर सम्मान गरे। प्रतियोगिताले स्थानीय नृत्य प्रतिभालाई प्रोत्साहित गर्ने महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।



