कपिलवस्तु, जेठ ४ –
कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० स्थित रामघाट, बाणगंगा नदी किनारको उर्वर भूमिमा अहिले तरबुजा उत्पादनको सिजन छ। मोतिनगर, चेतरादेई र भगवानपुरका करिब तीन दर्जन कृषकले मेहनतका साथ बगरे खेतीबाट राम्रो मात्रामा तरबुजा उत्पादन गरेका छन्। तर, बजारमा उनीहरूका उत्पादनले उचित मूल्य पाउन सकेको छैन।
स्थानीय कृषकहरूका अनुसार, रामघाट क्षेत्रमा तौलिहवा आसपासका तीन व्यापारीले सडक कव्जा गर्दै आफूलाई स्थानीय भन्दै भारतीय तरबुजा बेचिरहेका छन्। ती व्यापारीहरू भारतीय तरबुजा ५० रुपैयाँ प्रतिकेजीमा विक्री गर्दै उपभोक्तालाई भ्रममा पारिरहेका छन्। यसकै कारण स्थानीय तरबुजा ३० रुपैयाँ प्रतिकेजीमा पनि बिक्री हुन नसकेको गुनासो किसानको छ।
“हाम्रो तरबुजा खेतमै पाकेर बसेको छ। ताइवानी जातलगायत तीन प्रकारका तरबुजा फलाएका छौँ। तर बजारमा भारतीय तरबुजा छिरेपछि हामीलाई सस्तोमा बेच्न बाध्य भएका छौँ,” मोतीनगरका कृषक गंगासागर केवटले बताए।
केवटलगायत अन्य कृषकहरूले नगरपालिका र प्रशासनसँग बाहिरी व्यापारीको अवैध कब्जा हटाउन र स्थानीय उत्पादनलाई प्राथमिकता दिन आग्रह गरेका छन्। “हाम्रो उत्पादन किन्न नसक्ने हो भने कम्तीमा भारतीय तरबुजा ‘स्थानीय’ भन्दै बेच्न दिने प्रथा रोक्नुपर्छ,” उनीहरूको भनाइ छ। स्थानीय उत्पादन संरक्षण र कृषकको हितमा सम्बन्धित निकायको ध्यान जानु आवश्यक देखिन्छ।

