जानु पाण्डे
कपिलवस्तु, फागुन ४ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले ल्याएका अध्यादेश जसरी भए पनि पास गरिने बताउनु भयो । नेकपा एमाले कपिलवस्तु जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले उहाँले माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा यी अध्यादेश ल्याउन नसक्नु भएको टिप्पणी गर्नु भएको थियो ।
‘त्यो बेलामा पनि मैले यही मन्त्रालय सम्हालेको थिए । त्यो बेला नसकेको अध्यादेश अहिले सरकारले ल्याएको छ । भूमि सम्बन्धी अध्यादेशको नबुझी विरोध भएको छ । पूर्व प्र म प्रचण्ड र रवि लामिछानेले समेत जनता सँग मत माग्ने बेला भूमि हिनलाई जग्गा उपलब्ध गराउने बाचा गरेका थिए,’ मन्त्री अधिकारीले बताउनु भयो ।
उहाँले सरकारले एघार ओटा नयाँ ऐन बनाउने गरी अगाडी बढेको बताउनु भयो । अहिले ६ ओटा अध्यादेश संसदमा टेबुल भएको छ । ती अध्यादेश भित्र २८ देखी २९ ओटा कानुन रहेको छ । त्यो बाहेक मिडिया र नागरिकता सम्बन्धी विधेयक समेत पेस भएको बताउनु भयो ।
एमाले जिल्ला इन्चार्ज गिरिधारीलाल न्यौपानेले एमालेले गरेका कार्यहरूको मूल्याङ्कन गर्दा जनताले पार्टीलाई फेरि विश्वास गर्ने बताउनु भयो । उहाँले एमाले गरिब जनतासँग जोडिएको पार्टी भएकाले विपक्षीहरूले असफल बनाउन खोजे पनि सफल नहुने दाबी गर्नु भयो । बैठकले जरा केन्द्रित अभियान मार्फत पार्टीले गरेका काम र सन्देश लिएर हरेक मतदाताको घरदैलोमा पुग्ने योजना बनाएको एमाले कपिलवस्तु जिल्ला अध्यक्ष बाबुराम खनालले बताउनु भयो ।

