कपिलवस्तु कात्तिक २७ गते । मङ्सिर १६ गते हुने उपनिर्वाचनको लागी कपिलवस्तुको शुद्धोदन गाउँपालिका वडा नम्बर १ का मतदान स्थलको अनुगमन गरिएको छ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कुबेर कडायत सहितको प्रहरी टोलीले वडाका मतदान स्थलको अनुगमन गर्नु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
अनुगमनका क्रममा निर्वाचनमा कुनै पनि कमजोरी हुन नदिने र सुरक्षा संयन्त्रको पहुँच, विगतका घटना तथा अवस्थालाई मध्यनजर गर्दै मतदान स्थलमा शान्ति सुरक्षाको व्यवस्था मिलाउन निर्देशन दिनु भएको थियो । कम्पाउन्डवाल र घेरा बेरा नगरिएका संवेदनशील स्थलको थप निगरानी गर्ने तयारी समेत रहेको जिल्ला प्रहरी प्रमुख निरञ्जन दत्त भट्टले बताउनु भयो । डिआइजी कडायतले जिल्ला सुरक्षा समितिका पदाधिकारी सँग उपनिर्वाचनको विषयमा छलफल समेत गर्नु भएको प्रहरीले जनाएको छ ।
नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष तिलक राम यादवको २०८१ असोज ८ गते निधन भए पछि रहेको रिक्त पदको लागि निर्वाचन हुन लागेको छ । दुई कार्यकाल वडा अध्यक्ष निर्वाचित हुनु भएका यादव मस्तिष्कको ट्युमरको उपचारको क्रममा एपोलो अस्पताल दिल्लीमा निधन भएको थियो ।

