कपिलवस्तु असोज २३ गते ।
बुद्धभुमिको नमुनाको रुपमा विकास भइ रहेको त्रिसुली सामुदायिक वनको १० औँ साधारण सभा सम्पन्न भएको छ । गोरुसिङ्गेमा सम्पन्न साधारण सभामा ७८ लाख बढीको योजना प्रस्तुत गरिएको छ । वनको दिगो व्यवस्थापन सहित गरिबी निवारण, विपत् व्यवस्थापन, सुत्केरी आमा र शिशु स्वास्थ्य कार्यक्रम, लागू औषध दुर्व्यसन, सडक निर्माण लगायतका कार्यक्रम समावेश गरिएको वन समूहका अध्यक्ष निल कुमार श्रेष्ठले बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख अजित कर्णले वनको दिगो व्यवस्थापनले वातावरण जोगाउनुको साथै समुदाय विकासमा योगदान पुराएको चर्चा गर्नु भएको थियो । सभामा वैज्ञानिक वन महासङ्घका केन्द्रीय अध्यक्ष रेणु सेनले वनको वैज्ञानिक तरिकाले दिगो व्यवस्थापन गर्दा पुनरुत्पादन बढेको बताउनु भयो । सभामा वैज्ञानिक वन महासङ्घ जिल्ला अध्यक्ष शेषकान्त बेल्वासे, सब डिभिजन वन कार्यालय गोरुसिङ्गेका प्रमुख दयाराम पौडेल, बुद्धभुमी २ वडा सदस्य जीवलाल घिमिरे बुद्ध भूमि उद्योग वाणिज्य सङ्घका अध्यक्ष शुभ लाल भुसाल, समाजसेवी हिमलाल न्यौपाने, पीताम्बर खनाल, बाल कृष्ण बेल्बासे लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।
सभामा कोषाध्यक्ष लक्ष्मी न्यौपानेले ९५ लाख५५ हजार बढीको आय व्यय विवरण प्रस्तुत गर्नु भएको थियो । सभामा कृष्ण खनालको स्वागत मन्तव्य र सञ्चालन वन समूहका सचिव भक्तिराम खनालले गर्नु भएको थियो ।

