कपिलवस्तु चैत्र २५ गते । वैज्ञानिक प्रणालीले वन व्यवस्थापन गर्दा सुशासन सँगै वन क्षेत्रको विकासमा टेवा पुराएको बताइएको छ । वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासङ्घ लुम्बिनी प्रदेश समितिले आयोजना गरेको अन्तरक्रियामा वक्ताहरूले वैज्ञानिक वन सम्र्वधन प्रणालीले काठ उत्पादन र रुख पुनरुत्पादन समेत बढ्दै भएको बताइएको छ ।
कार्यक्रममा बोल्दै महासङ्घका केन्द्रीय अध्यक्ष रेणु सेनले सात प्रदेशमा नियमावली निर्माण भए पनि कार्यविधि निर्माणमा अलमल भएको बताउनु भयो । लुम्बिनी प्रदेशले कार्यविधि निर्माण गरी वन संवर्द्धन प्रणाली अनुसार वन व्यवस्थापन गर्दा उत्पादनमा गुणात्मक वृद्धि भएको बताइएको छ । नेपालमा पहिलो पटक वैज्ञानिक वन व्यवस्थापन लागु गर्नु भएका डिभिजन वन कार्यालयका प्रमुख विजयराज सुवेदीले वैज्ञानिक वन व्यवस्थापनको विषयमा समुदायमा भ्रम सिर्जना गरेको बताउनु भयो ।
उहाँले वैज्ञानिक वन व्यवस्थापनमा रुखहरूको जिपिएस लिएर हरेक रुखको तथ्याङ्क लिने गरेको बताउनु भयो । खाली ठाउँमा बृक्षारोषण गरी खुला चरी चरन समेत बन्द भएको बताइएको छ । अहिले कपिलवस्तुमा वन व्यवस्थापन वन विज्ञान अध्ययन गर्ने विद्यार्थीको सिक्ने स्थलको रूपमा विकास भएको बताउनु भयो । कार्यक्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष डिल्लीराज रेग्मीले वन व्यवस्थापनको अवसर, अवस्था, चुनौती एवं आगामी कार्यादेशको विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा सहभागी सामुदायिक वनका प्रतिनिधिहरूले राजस्व दररेट र गोलिया मापन गर्ने सूत्र परिवर्तन गर्दा उत्पादन भएका काठ बिक्रीमा समस्या भएको गुनासो गर्नु भएको थियो । वनमा देखिएका समस्यालाई सरकार सँग छलफल गरी समाधान गर्न पहल गर्ने महासङ्घका लुम्बिनी प्रदेश अध्यक्ष दीपक थापाले बताउनु भयो ।
फोटो क्याप्सन ः वन व्यवस्थापनको विषयमा गरिएको लुम्बिनी प्रदेश स्तरीय अन्तरक्रिया । तस्बिर जानु पाण्डे ।

