जानु पाण्डे
कपिलवस्तु चैत्र २८ गते ।
पहाडको कष्टकर जीवनशैली टार्न दिन प्रसाद घिमिरे र रूपकला मधेस झर्नु भयो । २०४० सालमा २ छोरी १ छोरा सहित अर्घाखाँचीको ढिकुराबाट कपिलवस्तुको कोपवा बसाइ सर्नु भयो । नयाँ ठाउँ चिन्ने कोही थिएन । केही ठुला वडाको रजगज । विपन्न र सामान्य मानिस हेपिएर बस्न बाध्य थिए । समाजमा बोल्न विचार राख्न पाइदैन्थ्यो । खेतबारीमा सिँचाई गर्न अन्तिममा पालो । महिलालाई दबाएर राख्ने ।
राष्ट्रिय सभामा निर्वाचित हुनु भएकी उपाध्यक्ष विमला घिमिरे सामन्ती प्रवृत्तिको विरोध गर्दै राजनीतिमा होमिनु भएको थियो । बुवा भारतमा काम गर्नु हुन्थ्यो । परिवारमा जेठी भए पछि घर धन्दा पनि मिलाउन पर्थ्यो । थिचोमिचो हटाउनका लागि उहाँले स्कुल जीवनबाटै राजनीति सुरु गर्नु भएको थियो ।
त्यो समयमा राजनीतिमा महिला । घरका पनि रिसाउने समाजले स्वीकार नगर्ने । बाटोमा हिँड्यो कुरा काट्ने, यसलाई कसले बिहे गर्ला भन्दै होच्याउने । कम्युनिस्ट भने पछि वृद्धलाई मार्ने, धर्म मास्न आएकी, जातभात नमान्ने भन्दै टिका टिप्पणी गर्थे । तर पनि उहाँ राजनीति मै निरन्तर लाग्नु भयो ।
एक पटक शिक्षक हुनु भयो । सिद्धार्थ सामाजिक विकास केन्द्र संस्थामा जागिर पनि गर्नु भयो । जागिरले राजनैतिकमा वाधा पुगे पछि एक वर्ष मै राजीनामा दिनु भएको उहाँको समकक्षीहरू बताउँछन्। ‘दिदी पढ्दा पढ्दै राजनीतिमा होमिनु भयो । पढेर जागिर खानु होला भनेको नेता बनेर हिँड्नु भयो । पार्टी सङ्गठन विस्तार अभियान चलेको थियो । यता उता गर्दा पढ्ने समय भएन । उच्च शिक्षा अध्ययन गर्न पाउनु भएन । २०४८ सालमा अनेमसंघको जिल्ला सचिव हुनु भयो,’ भाइ प्रकाश घिमिरेले बताउनु भयो ।
उपाध्यक्ष घिमिरेले कपिलवस्तुका महिला आन्दोलनमा अग्रणी भूमिका खेल्दै हाल एमाले पोलिटब्युरो सदस्यको जिम्मेवारी पाउनु भएको छ । उहाँ १८ वर्षको उमेरमा अखिल नेपाल महिला सङ्घ (अनेमसंघ) कोपवा गाउँ कमिटीको सह सचिव हुँदै राजनीतिक यात्रा सुरुवात गर्नु भएको थियो । त्यसको १ वर्ष पछि सङ्घको जिल्ला सचिव भई काम गर्नु भएको थियो । एमालेको नवौँ अधिवेशनमा केन्द्रीय सदस्यमा पराजित हुनु भएकी विमला दशौँ महाधिवेशनमा पोलिटब्युरो सदस्यको जिम्मेवारी पाउनु भएको थियो ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा बाणगंगा नगरपालिकाको नगरप्रमुखमा नेकपा एमालेबाट उम्मेदवार बन्नु भएको थियो । नेपाली काँग्रेसका उम्मेदवार मङ्गल प्रसाद थारु सँग ४ सय ६० मतले पराजित हुनु भएको थियो । उप मेयर सहित ११ मध्ये ७ वडामा एमालेका उम्मेदवार विजयी हुँदा उहाँ पराजित हुनु भएको थियो । त्यो वेला पार्टी भित्र अन्तर्घात गरी हराइएको चर्चा चलेको थियो । त्यसको २ वर्ष पछि उहाँ राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित हुनु भएको थियो ।

