कपिलवस्तु चैत्र २४ गते
लुम्बिनी प्रदेशका पूर्व कृषि मन्त्री तथा किसान महासंघका केन्द्रीय सदस्य आरती पौडेलले साना किसानलाई सहकारीमा जोड्नु पर्ने बताउनु भएको छ । अखिल नेपाल किसान संघ कपिलवस्तुको जिल्ला अधिवेशनमा बोल्दै पौडेलले चक्लावन्दीको लागी कानुन नहुँदा र ठुलो मात्रामा खेती गर्न जग्गा अभाव भएको हुँदा साना किसानलाई सहकारी मार्फत जोड्नु पर्ने बताउनु भयो । उहाँको उत्पादन सहकारीले खरिद गर्ने, वीउ मल लगायत सहकारीबाट उपलब्ध गराउँदा किसानको मेहनत खेर नजाने बताउनु भयो ।
कार्यक्रममा बोल्दै एमाले कपिलवस्तु जिल्ला अध्यक्षले अखिल नेपाल किसान संघले किसान आन्दोलनको नेतृत्व गर्दै कृषकको हक हितमा सवालमा पैरवि गरेको बताउनु भयो । एमाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य तथा पूर्व जिल्ला अध्यक्ष झवीलाल पोख्रेल, परिषद सदस्य बाबुराम खनाल, किसान महासंघका लुम्बिनी प्रदेश अध्यक्ष महेन्द्र गिरीले संघले गरेका योगदानको चर्चा गर्नु भएको थियो ।
अधिवेशनमा स्व कमल पौडेल, नित्यानन्द ज्ञवाली, कुमार मधु बेल्वासे र ताराचन घिमिरेले गरेको योगदानको चर्चा गर्दै सम्मानित गरिएको थियो । अधिवेशन नारायण पन्थीको सञ्चालन र संघका अध्यक्ष रेशम बहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको छ ।

