कपिलवस्तु चैत्र १७ गते ।
नेपाल सरकारका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले खेलकुद क्षेत्रको विकासको लागि सरकार सकारात्मक रहेको बताउनु भएको छ । शनिवार कपिलवस्तुको बाणगंगामा सुरु भएको प्रथम तिलौराकोट गोल्ड कप फुटबल प्रतियोगिताको समुद्घाटन गर्दै मन्त्री अधिकारीले सबै पालिका मिलेर जिल्लाको पायक पर्ने ठाउँमा राम्रो खेल मैदान निर्माणमा जोड दिनु पर्ने बताउनु भयो । उहाँले जिल्लामा रंगशाला बनाउनु सकिने अवधारण ल्याउनु भएको थियो । तलका सबै प्रकृया मिलाएर आउनुस नेपाल सरकारको मन्त्रीको हैसियतले पहल गर्ने छु मन्त्री अधिकारीको भनाई रहेको थियो ।
उहाँले नेपालले खेलमा उत्कृष्ट प्रदर्शन गर्दै गएकोले देशका विभिन्न स्थानमा खेलमैदान, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माणमा जोड दिनु पर्ने बताउनु भयो । मोफसलमा राष्ट्रिय स्तरका खेलकुदका प्रतियोगिताले खेलाडीलाई प्रतिभा प्रदर्शन गर्ने मौका पाउने बताउनु भयो ।
शनिवार देखी सञ्चालनमा आएको प्रतियोगितामा चैत्र २४ गते सम्म चल्ने छ । प्रतियोगितामा मोफसलका ४ र ‘ए’ डिभिजन ४ क्लबको सहभागिता रहेको छ । सहभागी हुनेमा ‘ए’ डिभिजन क्लब अन्तर्गत थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, मच्छिन्द्र क्लब, नेपाल पुलिस क्लब र मोफसलका बीएफसी चितवन, सुदूरपश्चिम–११, सहारा क्लब पोखरा र आयोजक टिमको प्रतिनिधित्व गर्दै कपिलवस्तु –११ रहेका छन् ।
प्रतियोगितामा विजेताले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उप विजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ सहित ट्रफि प्रदान गरिने आयोजक कपिलवस्तु जिल्ला फुटबल सङ्घका अध्यक्ष तिलक थापाले बताउनु भयो ।
फोटो क्याप्सन ः प्रतियोगिताको उद्घाटनसत्रमा मन्तव्य राख्दै मन्त्री अधिकारी । तस्बिर जानु पाण्डे

