बुद्धभूमिमा थप ७३० जग्गाधनीले पाए लालपुर्जा

बुद्धभूमिमा थप ७३० जग्गाधनीले पाए लालपुर्जा

कपिलवस्तु, भदौ २१ गते।

बुद्धभूमि नगरपालिकाका गाउँ ब्लक जग्गाका थप ७३० जना जग्गाधनीले जग्गाधनी दर्ता प्रमाणपूर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । बुद्धभूमि नगरपालिका र नापी कार्यालय, तौलिहवा कपिलवस्तुको संयुक्त आयोजनामा आइतबार आयोजित कार्यक्रममा वडा नं. ७ का ३३८ जना र वडा नं. ८ का ३९२ जना गरी ७३० जना जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको हो ।

बुद्धभूमि नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष कपिलदेव तिवारीको अध्यक्षता तथा नगर प्रमुख केशवकुमार श्रेष्ठ र नापी कार्यालय तौलिहवाका नापी प्रमुख जनक भण्डारीको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । 

कार्यक्रममा पूर्व जिल्ला समन्वय समिति प्रमुख तथा रास्वपा नेता नारायणप्रसाद खनाल, वडा नं. ७ का अध्यक्ष शालिकराम यादव, वडा नं. २ का अध्यक्ष सुरज प्रताप राणा, वडा नं. ५ का अध्यक्ष रोमबहादुर थापा क्षेत्री, वडा नं. ९ का अध्यक्ष प्रमोद आचार्यलगायत जनप्रतिनिधि, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, पत्रकार तथा स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो ।

यसअघि बुद्धभूमि नगरपालिका वडा नं. ५ मा ३३५, वडा नं. ६ मा ६२० र वडा नं. १० मा ७३१ घरपरिवारलाई गाउँ ब्लक जग्गाको लालपुर्जा वितरण भइसकेको छ । वडा नं. ७ र ८ मा समेत लालपुर्जा वितरण भएपछि नगरपालिकामा हालसम्म २ हजार ४१६ घरपरिवारले जग्गाधनी दर्ता प्रमाणपूर्जा प्राप्त गरेका छन् ।

लामो समयदेखि गाउँ ब्लक जग्गामा बसोबास गर्दै आएका नागरिकले लालपुर्जा पाएपछि जग्गामाथिको आफ्नो कानुनी स्वामित्व थप सुनिश्चित भएको छ । लालपुर्जा प्राप्त भएपछि नागरिकलाई जग्गाको कारोबार, बैङ्किङ प्रयोजन तथा अन्य कानुनी प्रक्रियामा समेत सहज हुने अपेक्षा गरिएको छ । नापी कार्यालयले वितरण गरिएको प्रमाणपूर्जामा कुनै त्रुटि भएमा ६० दिनभित्र नापी कार्यालय, तौलिहवा, कपिलवस्तुमा सम्पर्क गरी आवश्यक सच्याउन सम्बन्धित जग्गाधनीलाई आग्रह गरेको छ ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार

//omg10.com/4/6824010