कपिलवस्तु, वैशाख ३० गते । कपिलवस्तुमा जबरजस्ती करणीको घटनालाई जग्गा विवादको विषय बनाएर मिलापत्र गराएको आरोपमा पूर्व वडाध्यक्षसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार पक्राउ पर्नेमा यशोधरा गाउँपालिका–५ का पूर्व वडा अध्यक्ष लईस पठान, मिलापत्र कागज तयार गर्ने लेखनदास रामबृक्ष कोहार, आरोपितका बुवा मोहम्मद सफिक पठान र पीडित महिलाकी आमा रहेका छन् ।
प्रहरीका अनुसार यशोधरा गाउँपालिका–५ की ३३ वर्षीया महिलामाथि वैशाख २१ गते जबरजस्ती करणी भएको भन्दै वैशाख २३ गते उजुरी दर्ता गरिएको थियो । उजुरीपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाउँदै आरोपितविरुद्ध पक्राउ पुर्जी समेत जारी गरेको जनाएको छ ।
अनुसन्धानकै क्रममा घटनालाई जग्गा विवादको रूप दिँदै दुवै पक्षबीच मिलापत्र गराइएको तथ्य खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पीडित महिलाकी आमा र आरोपित पक्षका बुवा मोहम्मद सफिक पठानबीच आपसी सहमतिमा मिलापत्र गरिएको थियो ।
डिएसपी सिंहले जबरजस्ती करणी जस्तो गम्भीर फौजदारी कसुर कानूनी रूपमा मिलापत्र गर्न नमिल्ने बताउँदै यस्तो मुद्दा दबाउने वा मिलाउने प्रयास आफैंमा गैरकानूनी कार्य भएको उल्लेख गर्नुभयो ।
प्रहरीका अनुसार मिलापत्र प्रक्रियामा पूर्व वडा अध्यक्ष लईस पठानले दुवै पक्षलाई सहमतिमा ल्याउने तथा कागजमा हस्ताक्षर गराउने भूमिका खेलेका थिए । प्रहरीले घटनाको मिलापत्र भएको सूचना पहिल्यै पाएपछि निगरानी बढाएको जनाएको छ ।
मिलापत्रपछि पीडित महिलाकी आमा, मोहम्मद सफिक पठान र पूर्व वडा अध्यक्ष लईस पठान मिलापत्र कागजसहित “मुद्दा फिर्ता पाउँ” भन्ने व्यहोराको निवेदन लिएर जिल्ला प्रहरी कार्यालय पुगेका थिए । त्यसपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

