कपिलवस्तु, वैशाख ३१ गते । कपिलवस्तुको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ।
पञ्चकन्या जे.बि.एम. केबुल नेट चन्द्रौटामा कार्यरत पाल्पाको रिब्दीकोट गाउँपालिका–७ फेक स्थायी ठेगाना भई हाल शिवराज–३ मदवामा बस्दै आएका ३२ वर्षीय लेखु थापाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बिहीवार बिहान करिब ९ः३० बजे खरेन्द्रपुरस्थित एक घरमा इन्टरनेट लाइन मर्मत गर्ने क्रममा थापालाई अचानक करेन्ट लागेको थियो। गम्भीर घाइते भएका उनलाई तत्काल बुद्ध पोलिक्लिनिक खरेन्द्रपुरमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको थियो।
उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तु का प्रवक्ता प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंह ले जानकारी दिनुभयो।

