कपिलवस्तु,। होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुको अध्यक्षमा पदम ढकाल निर्विरोध निर्वाचित हुनु भएको छ । शनिबार सम्पन्न संघको चौथो अधिवेशनबाट ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । नवगठित समितिको प्रथम उपाध्यक्षमा हरी प्रसाद खनाल, द्वितीय उपाध्यक्षमा धुव्र भुसाल, पर्यटन उपाध्यक्षमा बैकुण्ठ बेल्बासे, महासचिवमा लक्ष्मण न्यौपाने, सचिवमा सिम श्रेष्ठ तथा कोषाध्यक्षमा हुमनाथ पौडेल चयन हुनु भएको छ ।
त्यसैगरी सचिवालय सदस्यमा कमला आचार्य तथा सदस्यहरूमा भरत विष्ट, विष्णु प्रसाद अधिकारी, रामचन्द्र बेल्बासे, मोहन पाण्डे, लक्ष्मीनारायण खनाल, हरिनारायण बेल्बासे र श्रीधर आचार्य चयन हुनु भएको छ । अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले होटल तथा रेष्टुरेन्ट व्यवसाय जिल्लाको पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधिसँग प्रत्यक्ष जोडिएको क्षेत्र भएकाले व्यवसायीहरूलाई सेवा र गुणस्तरमा थप ध्यान दिन आग्रह गर्नु भयो ।
विशिष्ट अतिथि तथा प्रमुख जिल्ला अधिकारी जनार्धन गौतमले कपिलवस्तुको पर्यटन विकासमा होटल व्यवसायीहरूको महत्वपूर्ण भूमिका रहेको बताउँदै स्वच्छ, सुरक्षित र व्यवस्थित सेवा प्रवाहले जिल्लाको पहिचान अझ सुदृढ हुने उल्लेख गर्नु भयो । उहाँले व्यवसाय सञ्चालन गर्दा कानुनी मापदण्ड पालना गर्दै पर्यटकमैत्री वातावरण निर्माण गर्न व्यवसायीहरूलाई आग्रह गर्नु भयो । अधिवेशनमा निवर्तमान अध्यक्ष लेखनाथ घर्तीले प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा प्रहरी उपरीक्षक सन्तोष आचार्य, होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका प्रदेश महासचिव, संस्थापक अध्यक्ष ढुण्डीराज अधिकारी तथा पूर्व अध्यक्ष गोपाल खत्रीलगायतले नव निर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।

