म खुट्टा गुमाएको मान्छे हुँ।
यो वाक्य बोल्न सजिलो छैन,
यसले मलाई कमजोर होइन,
झन् बलियो बनायो।
तिमी सोध्न सक्छौ—
किन गुमायौ खुट्टा?
कसरी गुमायौ?
म उत्तर दिन्छु—
कैँची र छुराले बारम्बार समातिएको खुट्टा हो यो।
एकपटक होइन,
धेरैपटक।
शरीरमाथि चलाइएको चिरफार
एक–एक गर्दै आशा काट्न खोज्दै थियो।
काटियो।
गेडियो।
रेडीइसन् दिईयो ।
फेरि केमोथेरापी ।
अस्पतालका सेता भित्ताहरू
मेरो संसार बने।
निद्राभित्र पनि
औषधिको गन्ध र पीडाको आवाज सुनिन्थ्यो।
हरेक बिहान नयाँ डर बोकेर उठ्थें—
आज फेरि के भन्ने हो?डरको नाम !
नाम थियो— क्यान्सर।
स्पाइनल सार्कोमा।
देखिँदैनथ्यो,
तर विस्तारै
मेरो शरीर र मन दुवैमाथि
राज गर्न खोज्दै थियो।
एकदिन निर्णय भयो—
खुट्टा बचाउने कि
जीवन?
मैले जीवन रोजें।
खुट्टा त्यहीँ रोकियो,
तर यात्राले त्यहीँ अन्त्य मानेन।
त्यति धेरै चिरफारपछि पनि
म बाँचेँ।
अझै बाँच्छु भन्ने
हिम्मत जन्मियो।
म हार नखाने मान्छे हुँ।
म रोएर हिँड्ने मान्छे होइन।
काँडाले जीवन च्वास घोचे पनि
मुस्कान खोजिरहने मान्छे हुँ।
तिमी मलाई नसोध—
“दुख्दैन?”
दुख्छ।
जल्छ।
कहिलेकाहीँ
रातभर आँखा बन्द हुन दिँदैन।
तर म त्यो पीडालाई
मेरो पहिचान बन्न दिँदिनँ।
म पीडाभन्दा ठूलो सपना बोकेर हिँड्छु।
सजिलो छैन यो यात्रा।
यो सगरमाथा चुम्नजस्तै कठिन छ—
लड्दै, उठ्दै,
आफैँसँग लड्दै अगाडि बढ्नु।
तर यही कठिनाइभित्र
जीवनको मिठास लुकेको रहेछ।
खुट्टा गुमाएर पनि
म जीवनलाई जित्न सिकेको छु।
म क्यान्सर सर्भाइभर हुँ।
म हारेको मान्छे होइन।
म आज पनि भन्छु—
जीवन, म अझै तिमीलाई छोड्दिनँ।
तिमीले दुख दिएको कतिपो भएको छ र ,
जम्मा आठ वर्ष त भयो ।
म तिमीलाई फेरि पनि भन्छु—
जीवन त जीवन हो हार नखाने प्रण हो ।

