कैलालीमा डर लाग्दो घटना : मदिरा सेवनपछि साथीको घाँटी रेटी हत्या, टाउको बोकेर प्रहरीमा पुगे

Advertisement

घोडाघोडी (कैलाली), असोज २५ ।
कैलालीको घोडाघोडी नगरपालिका–८ जरैमा गएराति एक युवकको घाँटी रेटी हत्या गरिएको छ।

ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीका अनुसार गएराति करिब ११ बजे ३२ वर्षीय केशरबहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको हो।

प्रहरीका अनुसार सँगै बसेर मदिरा सेवन गरिरहेका तीन जनामध्ये विवाद भएपछि १८ वर्षीय बलबहादुर विक र १९ वर्षीय गंगा बुढा क्षेत्रीले मिलेर केशरबहादुरको घाँटी रेटी हत्या गरेका हुन्।

हत्या गरेपछि दुवैले मृतकको टाउको बोकेर सोही वडाको प्रतिखेतमा रहेको अस्थायी प्रहरी पोष्टमा पुगेका थिए। सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको र दुवै जनालाई नियन्त्रणमा लिइएको डीएसपी अवस्थीले बताए।

प्राथमिक अनुसन्धानअनुसार मदिरा सेवनपछि घर फर्कँदै गर्दा विवाद भएको र मृतकले एकको आमालाई गाली दिएपछि झगडा सुरु भएको बुझिएको छ। त्यस क्रममा कुटपिटबाट ढलेका केशरबहादुरलाई बलबहादुरले घरमा रहेको गरसा (धारिलो हतियार) ल्याई घाँटी रेटेर हत्या गरेको प्रहरीको प्रारम्भिक बयानमा उल्लेख छ।

मृतकका बुबाआमा सुर्खेतको चौकुने गाउँपालिका–४ का स्थायी बासिन्दा भएकोले उनीहरूको आगमनपछि पोस्टमार्टम तथा अन्य कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार