सम्झना रणपालको तिज गित “फर्की हेर्यौ नक्कले” सार्वजनिक

Advertisement

नेपाल टिभि न्युज
हरितालिका तीजको रौनक झनझन चुलिँदै जाँदा नेपाली सांगीतिक बजार पनि झनै तातिएको छ। यतिबेला कलाकारहरू, गायक–गायिकाहरू, संगीतकारहरू सबै तीज विशेष गीतहरूमा व्यस्त छन्। यसैबीच गायिका सम्झना रणपालको आवाजमा सजिएको “फर्की हेर्यौ नक्कले” बोलको नयाँ तीज गीत सार्वजनिक भएको छ। यो गीतमा मौलिकता र परम्पराको संगालो छ। रमाइलो लय, व्यङ्ग्यात्मक शैली र महिला चेतनाको सन्देश मिसिएको गीत सुन्दा पनि झुम्न बाध्य बनाउँछ। सम्झना रणपाल, मोहित मुनाल र लक्ष्मी बस्नेतको आवाजले गीतमा ऊर्जा थपेको छ।
गीतका शब्द लेखक बिक्रमबाबु विश्वकर्माले परम्परागत तीजको भावना र आजको समाजबीचको अन्तरलाई सरल तर प्रभावशाली ढंगले प्रस्तुत गरेका छन्। लय संयोजन झबिन नेपालीको रहेको छ, जसले गीतलाई आधुनिक फ्लेवर दिँदै मौलिक नेपाली पन नछुटेको अनुभूति दिन्छ। गीतको म्युजिक भिडियो झन् आकर्षक छ। एलिना रायमाझी, झबिन नेपाली र प्रेम विश्वकर्माको अभिनयले तीजको उत्सवलाई झनै रंगीन बनाएको छ। परम्परागत पहिरन, रमाइलो नृत्य र परिवारबीचको सम्वादले भिडियोमा सजीवता ल्याएको छ। गायिका सम्झना रणपालले यस गीतप्रति ठूलो विश्वास व्यक्त गरेकी छन्। उनले भनिन्: “यो गीतले छोटो समयमा धेरैको मन जित्छ भन्ने कुरामा म विश्वस्त छु। गीत रमाइलो छ, मिठो छ र आजको महिलाको आवाज पनि बोल्छ।”
गीतको निर्माण र सफलतामा साथ दिने सबैप्रति गायिका रणपालले विशेष धन्यवाद व्यक्त गरेकी छन्। सहयोगी तथा प्रेरणाका स्रोत कमल रिजाल लगायत सबै अग्रज कलाकार, स्रष्टा र दर्शकहरूलाई उनले विशेष सम्मान र आभार प्रकट गरेकी छन्। उनले भनिन्: “गीतको यात्रा यति सहज हुने थिएन, यदि कमल रिजाल सरलगायत मेरा अग्रजहरूको साथ र प्रेरणा नपाएको भए। तपाईंहरू सबैको सद्भाव, माया र हौसला प्रति हार्दिक आभार।”
उनको आफ्नै यूट्युब च्यानलबाट सार्वजनिक गरिएको यस गीतले छोटो समयमै उल्लेख्य दर्शक र प्रतिक्रिया पाएको छ। आजकल बजारमा दर्जनौं तीज गीतहरू आइरहेका छन्। कतिपयले परम्परालाई भुलेको आरोप खेपिरहेका छन् भने कतिपय गीत रचनात्मकताको दृष्टिले कमजोर ठहरिएका छन्। तर “फर्की हेर्यौ नक्कले” गीतले भने परम्परा, मनोरञ्जन र सन्देशको सन्तुलन मिलाएको छ।
भिडियो हेर्न यहाँ किलिक गर्नुहोस्

By एन टी एन ब्युरो

उस्तै खालका समाचार