जन ज्योति वनमा हरियालीको उत्सव: ३ हजार बढी बिरुवा रोपिए

Advertisement

बुद्धभूमि, कपिलवस्तु —
बुद्धभूमि नगरपालिका–३, मोर्मिमा अवस्थित जन ज्योति सामुदायिक वन उपभोक्ता समूहले साउने सक्रान्तिको अवसर पारेर बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम अन्तर्गत वन क्षेत्रभित्र ३ हजार बढी विभिन्न प्रजातिका बिरुवा रोपिएका छन्।

कार्यक्रमबारे जानकारी दिँदै सामुदायिक वनका सचिव विष्णु चौधरीले भने, “गत आर्थिक वर्ष ०८१/०८२ मा कटान गरिएको क्षेत्रमा हामीले उपभोक्ताको सक्रिय सहभागितामा नयाँ बिरुवा रोपेका छौं। हरियालीको संरक्षण, तापक्रम नियन्त्रण र स्थानीय जीवनस्तर उकास्न वृक्षारोपण अत्यावश्यक छ।”

उनले आगामी दिनमा अझ व्यापक रूपमा वृक्षारोपणलाई निरन्तरता दिइने प्रतिबद्धता समेत व्यक्त गरे।

वनका अध्यक्ष राम दुलारे थारुले वनलाई मानव जीवनको मेरुदण्ड भन्दै संरक्षणको महत्वमा जोड दिए। उनले भने, “स्वस्थ जीवनको आधार स्वच्छ वातावरण हो। त्यसैले वनको संरक्षणमा सबैले आ–आफ्नो भूमिका निभाउनुपर्छ।”

कार्यक्रममा सहभागीहरूले वृक्षारोपण मात्र नभई वन संरक्षण र संवर्धनप्रति प्रतिबद्धता व्यक्त गरेका थिए। वातावरणीय सन्तुलन कायम राख्न र भावी पुस्ताका लागि हरियाली जोगाउन गरिएको यो अभियान उदाहरणीय भएको सहभागीहरूको भनाइ छ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार