भर्लाबास–बुटवल मार्गमा दैनिक चार इलेक्ट्रीक गाडी सञ्चालनमा

Advertisement

कपिलवस्तु – वैशाख ४ गते ।
कपिलवस्तुको बाणगंगा नगरपालिका–९ मा पहिलो पटक यात्रु बोक्ने इलेक्ट्रीक मिनी बस सेवा सुरु गरिएको छ। पाँच वर्षअघि सार्वजनिक बस सेवा बन्द भएपछि स्थानीयवासीहरू ई–रिक्सामै आउजाउ गर्न बाध्य थिए। सीमित सवारीसाधनको कारण यात्रामा असहजता हुनुका साथै मनपरी भाडा असुल्ने प्रवृत्तिले नागरिकहरू प्रभावित हुँदै आएका थिए।

यस समस्यालाई सम्बोधन गर्दै पश्चिम नेपाल बस व्यवसायी प्रा.लि., बुटवलबाट इलेक्ट्रीक गाडी सञ्चालनमा ल्याइएको हो। बिहीवार एक कार्यक्रमबीच बाणगंगा–९, भर्लाबासबाट बुटवलसम्मको रुटमा इभी सेवा औपचारिक रूपमा सुरू गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री बिस्नु पन्थीले स्थानीय युवाहरूको सक्रियता र पहलमा इभी बस सञ्चालन भएकोमा प्रशंसा गर्दै भविष्यमा यो मार्ग हुँदै अर्घाखाँचीसम्म सडक विस्तारको आवश्यकतामा तीनै तहको सरकारको ध्यान जानुपर्ने बताए।

सोही अवसरमा वाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणि अर्यालले नयाँ यातायात सेवाले वडाको विकाससँगै स्थानीय उत्पादन बजारसम्म पुर्‍याउन सहज हुने विश्वास व्यक्त गरे।

रुट संयोजक राम भगत चौधरीका अनुसार भर्लाबास–मोतिपुर–बनगाई हुँदै बुटवलसम्मको मार्गमा दैनिक चारवटा इलेक्ट्रीक सवारी साधन एक–एक घन्टाको फरकमा सञ्चालनमा आउनेछन्।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार