जानु पाण्डे
कपिलवस्तु, वैशाख ३ गते । कपिलवस्तुको सर्प दंश उपचार केन्द्रलाई सेवाग्राहीहरूले सामग्री सहयोग गरेका छन् । केन्द्रमा उपचारपछि निको हुनु भएकी बाणगंगा नगरपालिका १, वैरियाकी यमकला थापा मगरले १ लाख ६० हजार रुपैयाँ बराबरको वाटर फिल्टर सहयोग गर्नु भएको छ ।
उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीका अनुसार, यमकलाले ससुरा बलबहादुर थापा मगरको स्मृतिमा उक्त सहयोग गर्नु भएको थियो । वाटर फिल्टरको सहयोगले उपचार केन्द्रमा आउने बिरामीहरूलाई स्वच्छ पानी पिउन सहज हुनेछ । विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले यमकलाले उपचारका क्रममा पसलबाट पानी किन्नु परेको अनुभवपछि फिल्टर सहयोग गर्ने निर्णय लिएको जानकारी दिनु भयो । यमकला पालिका अध्यक्ष थापाको भाइ बुहारी हुनु हुन्छ ।
त्यस्तै, बुद्धभूमि नगरपालिका–४ का मौरीपालक कृषक रामप्रसाद खनालले ५० हजार रुपैयाँ बराबरका दुईवटा बिरामी जाँच बेड सहयोग गर्नु भएको छ । सहयोगदाताप्रति आभार व्यक्त गर्दै बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशवकुमार श्रेष्ठले यस्ता सहयोगले स्वास्थ्यकर्मीहरूको मनोबल उच्च हुने बताउनु भयो । सहयोगदाताहरूलाई सम्मान पत्र प्रदान गरिएको बुद्धभूमि नगरपालिका–२ का वडा अध्यक्ष सुरज प्रताप राणाले जानकारी दिनु भयो ।

