कपिलवस्तु, वैशाख ३ गते। सर्प दंश उपचार केन्द्रमा बिरामीका लागि बेड सहयोग गर्ने बुद्धभूमि नगरपालिका–४ का मौरीपालक कृषक रामप्रसाद खनाललाई सम्मान गरिएको छ।
खनालले ५० हजार रुपैयाँ बराबरका दुईवटा बिरामी जाँच बेड सहयोग गरेका थिए। स्वास्थ्य क्षेत्रमा नागरिकको सक्रिय सहभागिता महत्वपूर्ण हुने भन्दै केन्द्रले उनलाई सम्मानपत्र प्रदान गरेको हो।
बुद्धभूमि नगरपालिका–२ का वडा अध्यक्ष सुरज प्रताप राणाले खनाललाई सम्मानपत्र हस्तान्तरण गरेका थिए। कार्यक्रममा बोल्दै नगर प्रमुख केशव कुमार श्रेष्ठले स्थानीयको सहयोगले स्वास्थ्य सेवा प्रवाहमा थप सघाउ पुग्ने बताए।
उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले खनालको सहयोगप्रति आभार व्यक्त गर्दै सबै नागरिकलाई सामाजिक उत्तरदायित्वमा अग्रसर बन्न आह्वान गरे।

