तालिम प्राप्त कुकुरद्वारा सीमा नाकामा सप्राइज चेकिङ

Advertisement


जानु पाण्डे
कपिलवस्तु समाचारदाता, कपिलवस्तु चैत २८ गते ।
भारतसँग सीमा जोडिएको मुख्य नाकामा तालिमप्राप्त कुकुर प्रयोग गरेर सप्राइज चेकिङ अभियान सुरु गरिएको छ । कपिलवस्तुको कृष्णनगरमा पहिलो पटक तालिम प्राप्त कुकर लगाएर चेकजाँच गरिएको थियो । कृष्णनगर नाका हुँदै लागु औषध ओसारपसार, सीमा अपराध, तस्करी तथा अन्य अन्तर्देशीय आपराधिक गतिविधिहरूको नियन्त्रणका लागि प्रहरीले अभियानको रूपमा यस्तो कदम चालेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले बताउनु भयो ।
इलाका प्रहरी कार्यालय कृष्णनगरले नगरपालिका–२ अन्तर्गत पर्ने लिंकगेट, यात्रु गेट, ट्रान्समिटर क्षेत्र र बसपार्क जस्ता आवत–जावत हुने स्थानहरूमा कुकुरको प्रयोग गरी चेकिङ गरेको थियो । भैरहवा विमान स्थलको डग शाखा बाट ल्याइएको विशेष तालिम प्राप्त दुई वटा कुकुरको प्रयोग गरिएको थियो । लागु औषध, विस्फोटक पदार्थ एक्सपर्ट मानिएका ज्यानी एक्सप्लोसिभ र जुजु नारकोटिक्स नामक तालिम प्राप्त कुकुरको प्रयोग गरिएको थियो । जसले यात्रु तथा सवारीसाधनहरू सूक्ष्म रूपमा जाँच गरे इप्रका कृष्णनगरका प्रमुख प्रहरी निरीक्षक सुरज खत्रीले बताउनु भयो ।
सीमा नाकाबाट ब्राउन सुगर नेपाल ल्याउने र चरेस भारत लैजाने कार्य बढ्दो छ । यसले युवा पुस्तालाई झन् जोखिममा पार्दै आएको छ । यो कदम सीमावर्ती क्षेत्रमा बढ्दो लागु औषध कारोबार र अवैध हतियारको प्रवेश रोक्न प्रभावकारी हुने अपेक्षा गरिएको छ । “सीमामा दिनहुँ सयौं मानिसको आवत–जावत हुन्छ। हामीले अब यस्ता स्थानहरूमा सप्राइज चेकिङलाई नियमित बनाउने छौँ । एउटा क्षेत्रमा महिनामा न्यूनतम २ पटक कुकुर परिचालन गरी चेक गरिने छ । आवश्यकताका आधारमा बढाउन पनि सकिने छ ,” उपरीक्षक भट्टले बताउनु भयो ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार