भैरहवा, फागुन ५ गते ।
लुम्बिनी प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुहुने भएको छ । सोमबार बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्नुहुने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताउनु भयो ।बिहान साढे ११ बजे प्रदेश सभाको बैठकलाई प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने गरी बैठक बस्ने कार्यसूची प्रकाशन गरिएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रण गर्नु भएको थियो । लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम निमन्त्रणा गरिएको थियो । यसअघि २०७५ साल वैशाख १६ गते तत्कालीन पाँच नम्बर प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्नु भएको थियो ।
प्रदेश सभाको बैठकलाई विशेष सम्बोधनपछि एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले घोराहीमा आयोजना हुने एमालेको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
जिल्ला समन्वय समितिको मञ्चमा हुने सभामा करिब ५० हजार जनताको सहभागिता हुने एमाले दाङका अध्यक्ष शिवकुमार आचार्यले जानकारी दिनुभयो ।
