गृहिणीबाट उद्यमीको यात्रा: महिलाहरूले सिके फिनाइल र हार्पिक बनाउने सीप

Advertisement

कपिलवस्तुको शिवराज नगरपालिका-३ का महिलाहरूका लागि यो हप्ता विशेष रह्यो। उनीहरूले सात दिनसम्म फिनाइल र हार्पिक बनाउने सीप सिके, जुन भविष्यमा उनीहरूको आर्थिक आत्मनिर्भरताको आधार बन्न सक्छ। साना उद्योगमार्फत महिलाहरूलाई उत्पादनशील बनाउँदै सशक्तिकरण गर्ने लक्ष्यसहित शिवराज नगरपालिकाको आर्थिक सहयोग र मिलिजुली महिला विकास ऋण सहकारी संस्थाको आयोजनामा तालिम सम्पन्न भएको थियो।

तालिम सकिएपछि सहभागी महिलाहरू उत्साहित देखिन्थे। कतिपयले आफ्नै व्यवसाय सुरु गर्ने योजना सुनाए, भने केहीले सहकारीमार्फत सामूहिक उत्पादन सुरु गर्ने सोच बनाएका छन्।

सांसदको जोड: उद्यमशीलता र बजारीकरण

कार्यक्रमको समापन समारोहमा लुम्बिनी प्रदेशका सांसद तथा पूर्वमन्त्री अर्जुन कुमार केसीले महिलाहरूको उत्पादनलाई बजारीकरण गर्दै उद्यमशीलताको ढोका खोल्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “समाजका साना तथा कुटिर उद्योगलाई व्यवसायसँग समायोजन गर्दै अगाडि बढे मात्र वास्तविक परिवर्तन सम्भव छ।”

नगरप्रमुख अजय थापाले महिलाहरूले उत्पादन गरेका सामग्रीलाई बजारसम्म पुर्‍याउनु आवश्यक रहेको बताउँदै स्वरोजगारका अवसर सिर्जना गर्न स्थानीय तहले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

नगर उपप्रमुख शिवकुमारी चौधरीको नजरमा यस्ता तालिमहरू महिलाहरूका लागि एउटा नयाँ ढोका खोल्ने अवसर हुन्। उहाँ भन्छिन्, “स्वरोजगारको बाटो खुलाउन नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिन्छ।”

स्थानीयस्तरमै रोजगारीको अवसर

वडा नम्बर ३ का अध्यक्ष टेकलाल सापकोटाले तालिमले महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन टेवा पुर्‍याउने बताए। चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य महादेव पोखरेलका अनुसार, उत्पादनलाई व्यवसायिक बनाउन बजारीकरण नै प्रमुख चुनौती हो।

चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी पाण्डेले महिलाहरूले उत्पादन गरेका सामग्रीलाई बजारमा पुर्‍याउन संघले आवश्यक सहयोग गर्ने आश्वासन दिए।

तालिमका प्रशिक्षक तथा सहभागी महिलाहरूका अनुसार, फिनाइल र हार्पिक उत्पादन थोरै लगानीमा सुरु गर्न सकिने व्यवसाय हो। उनीहरूले उत्पादनलाई निरन्तरता दिने र स्थानीय बजारसम्म पुर्‍याउने योजना बनाएका छन्।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार