कपिलवस्तु पुस २२ गते । लुम्बिनी प्रदेशमा दूध पाउडर बनाउने प्लान्ट नहुँदा डेरी व्यवसायीले समस्या खेप्नु परेको बताएका छन् । नेपाल डेरी एसोसिएसन कपिलवस्तुको दोस्रो साधारण सभा बोल्दै एसोसिएसनका प्रदेश अध्यक्ष थानेश्वर न्यौपानेले पाउडर प्लान्ट नभएको कारण बर्सेनि एक अर्ब रुपैयाँको क्षति भएको बताउनु भएको छ ।
उत्पादन भएको दूधको ठुलो परिमाण उपयोग गर्न सकिएको छैन । प्रदेशमा दैनिक करिब १.५ लाख लिटर दूध उत्पादन हुन्छ । ती मध्ये ८० हजार लिटर दैनिक उपयोग विहीन बन्ने गरेको छ । बिक्री नभएको दूधलाई चितवन, विराटनगर पठाएर पाउडर बनाउनु पर्ने बाध्यता छ । जसले गर्दा लागत अत्यधिक महँगो पर्ने हुँदा दूधको मूल्य उपभोक्ताको पहुँच बाहिर जाने स्थिति रहेको न्यौपानेको भनाइ रहेको थियो ।
डेरी व्यवसायीहरूले प्रदेश सरकारसँग पाउडर प्लान्ट निर्माण गर्न ३० करोड रुपैयाँको बजेट सुनिश्चित गर्न आग्रह गरे पनि सम्बोधन नभएको गुनासो रहेको छ । लुम्बिनी प्रदेशमा १५० साना तथा ठुला डेरी उद्योगहरू सञ्चालनमा छन् । यी उद्योगहरूले दैनिक ५० हजार लिटर दूधबाट छुर्पी, घिउ, खुवा, र दही उत्पादन गर्दै आएका छन् । डेरी व्यवसायी सङ्घका अध्यक्ष हेमलाल पौडेलले पाउडर प्लान्टको अभावका कारण किसानहरू र उद्योगीहरू ठुलो सङ्कटमा परेको बताउनु भयो । दूध जोगाउन पाउडर प्लान्ट अत्यावश्यक रहेको र सरकारले यो विषयलाई प्राथमिकतामा राख्नु पर्ने व्यवसायीको माग रहेको छ ।

