कपिलवस्तु, मंसिर ३ – कपिलवस्तुको गोरुसिंगेमा हुने चौथो बुद्धभूमि महोत्सव २०८१ मा यस वर्ष पहिलो पटक डान्स स्टार प्रतियोगिता आयोजना हुँदैछ। महोत्सव मंसिर ६ गतेदेखि सुरु हुने भए पनि प्रतियोगिताको अडिशन आइतवार, मंसिर २ गतेबाट प्रारम्भ हुनेछ । डान्स स्टार प्रतियोगिताका लागि अडिशन कार्यक्रम बिहानदेखि होटल संगम प्यालेस, गोरुसिंगेमा सञ्चालन हुनेछ। प्रतियोगितामा सहभागी हुन चाहनेले आफ्नो प्रतिभा देखाउन यो अडिशन अवसर हुनेछ ।
महोत्सव आयोजक समितिका अनुसार, डान्स स्टार प्रतियोगिता मार्फत स्थानीय तथा राष्ट्रिय स्तरका नृत्य प्रतिभालाई मंच प्रदान गर्ने लक्ष्य राखिएको छ । बुद्धभूमि महोत्सव विगतका वर्षहरूमा धार्मिक, सांस्कृतिक तथा व्यापारिक कार्यक्रमहरूसँगै विविध प्रतियोगिताहरूको माध्यमबाट समुदायलाई जोड्दै आएको छ । यस पटकको डान्स स्टार प्रतियोगिताले महोत्सवलाई थप आकर्षक बनाउने विश्वास गरिएको छ । अघिल्ला ३ महोत्सवमा डान्स आइडियलको नाममा चलेको शो यस पटक डान्स स्टारको नाम बाट चल्ने निर्णायक तथा गायक किरण खड्काले बताउनु भयो ।
आयोजक समितिले प्रतियोगितामा सहभागी हुन सबै उमेर समूहका प्रतिभालाई स्वागत गरेको छ। साथै, प्रतियोगिताको मुख्य चरण भने महोत्सव अवधिमा आयोजना गरिने जानकारी पनि दिइएको छ । डान्स स्टारको व्यवस्थापन कपिलवस्तु कला केन्द्रले गर्ने बताइएको छ ।
सम्पर्कः
डान्स स्टार प्रतियोगिताका लागि अडिशनसम्बन्धी थप जानकारीको लागि आयोजक समितिको कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।
Kapilvastu Dance studio- 9857052708 / 9804460732

