नेकपा (एमाले) बाणगंगा नगर कमिटीको दोस्रो अधिवेशनको तयारी तीव्र रुपमा अघि बढाइएको छ। भदौ ७ गते सिद्धार्थ क्याम्पसमा हुने यो अधिवेशनका लागि आवश्यक तयारीहरु अन्तिम चरणमा पुगेको नगर कमिटी अध्यक्ष युवराज पोख्रेलले जानकारी दिनुभयो।
आज बसेको नगर कमिटीको नवौं पूर्ण बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरू गर्दै अधिवेशनका प्रतिनिधि छनौट प्रक्रिया तय गरेको छ। भदौ १ गते ११ वटै वडामा अधिवेशनका प्रतिनिधि छनौट गरिने छ। प्रतिनिधि छनौटका लागि खुला समूहबाट २७६२ पार्टी सदस्यमध्ये २५ जना बराबर एक जनाका दरले प्रतिनिधि छनौट गरिनेछ भने १२९ जना दलित सदस्यमध्ये १५ जना बराबर एक जना प्रतिनिधि चयन गरिनेछ। छनौट गरिएका प्रतिनिधिमध्ये प्रत्येक तीन जना प्रतिनिधिमा एक जना महिला अनिवार्य हुनुपर्ने र कुल प्रतिनिधिको १५ प्रतिशत युवा अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ।
अधिवेशनको उद्घाटन संघीय सरकारका भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गर्ने तय भएको छ।
अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न विभिन्न उपसमितिहरू गठन गरिएको छ। प्रतिनिधि जाँचबुझ र व्यवस्थापन उपसमितिको संयोजकमा नगर कमिटी सचिव विष्णु गिरी, खाद्यान्न व्यवस्थापन उपसमितिमा नगर कमिटी उपाध्यक्ष मुक्त बहादुर कार्की, मञ्च व्यवस्थापन उपसमितिमा कृष्ण बहादुर विक, स्टेशनरी तथा खादाब्यवस्थापन उपसमितिमा नगर कमिटी उपसचिव चेत नारायण भण्डारीलाई जिम्मेवारी प्रदान गरिएको छ।
त्यस्तै, आर्थिक व्यवस्थापन उपसमितिमा नगर कमिटी अध्यक्ष युवराज पोख्रेलको संयोजकत्वमा अन्य पदाधिकारी सदस्य रहनेछन्।
बैठकले राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनको जिम्मेवारी क्रमशः अध्यक्ष युवराज पोख्रेल, सचिव विष्णु गिरी, र उपसचिव चेत नारायण भण्डारीलाई दिएको छ।
बैठकका प्रमुख अतिथि नेकपा (एमाले) केन्द्रिय सदस्य तथा कपिलवस्तु ईन्चार्ज गिरधारीलाल न्यौपानेले अधिवेशन सफल बनाउन सबै नेता तथा कार्यकर्ताहरूलाई सक्रिय हुन आग्रह गर्नुभयो। बैठकमा पार्टी जिल्ला कमिटी कपिलवस्तुका अध्यक्ष बाबुराम खनाल, निवर्तमान अध्यक्ष डम्मर शर्मा, पूर्व जिल्ला अध्यक्ष झविलाल पोख्रेल, एमाले नेता विष्णु पन्थी, प्रदेश कमिटी सदस्य धनु अधिकारी, तथा केन्द्रिय सल्लाहकार परिषद सदस्य कासिराम बेल्बासे लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

