परम्परागत व्यवस्थापन नै वन विकासको समस्या

Advertisement


जानु पाण्डे
कपिलवस्तु साउन २६ गते
वन व्यवस्थापन प्रणालीमा वन संवर्द्धन प्रणालीले नयाँ आयाम थपेको सामुदायिक वन उपभोक्ताहरूले बताएका छन् । कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गेमा सामुदायिक वन दिवसको अवसरमा आयोजित कार्यक्रममा वन व्यवस्थापनमा वैज्ञानिक प्रणाली अपनाउँदा पुनरुत्पादन र जैविक विविधतामा सकारात्मक परिवर्तन भएको चर्चा गरिएको थियो । कार्यक्रममा सहभागीले परम्परागत वन व्यवस्थापनले ढलेका रुख मात्र सङ्कलन गर्ने बिरुवा हुर्काउन समेत समस्या भएको बताएका छन् ।
वैज्ञानिक वन उपभोक्ता महासङ्घ लुम्बिनी प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै वन विज्ञ तथा कपिलवस्तुका डिभिजनल वन अधिकृत विजय राज सुवेदीले सामुदायिक वनले मान्छे मात्र नभएर सम्पूर्ण जीव जगतलाई फाइदा पुग्ने गरी काम गर्नु पर्ने बताउनु भयो । उहाँले परम्परागत तरीकाले व्यवस्थापन गर्दा रुख बिरुवा नहुक्रिने, नयाँ बिरुवा उत्पादन नहुने, उत्पादन भएका रुख धोद्रा हुने र बुढो रुखले जति अक्सिजन फाल्यो त्यति लिने भएको हुँदा वातावरणलाई फाइदा नहुने बताउनु भयो ।
कार्यक्रममा बोल्दै वैज्ञानिक वन व्यवस्थापन महासङ्घका केन्द्रीय अध्यक्ष रेणु सेनले वैज्ञानिक वन व्यवस्थापनको विषयमा अफवाह फैलाउँदा राज्यले हेर्ने दृष्टिकोण फरक भएको बताउनु भयो । वैज्ञानिक वन व्यवस्थापन अन्तर्गत वन संवर्द्धन प्रणाली लागु गर्नका लागी सबै सकारात्मक भए पनि फोकोफनका कारण बोल्न नसकेको आरोप लगाउनु भयो । कार्यक्रममा लुम्बिनी प्रदेश समेटिने गरी सामुदायिक वनको सहभागिता रहेको महासंघका लुम्बिनी प्रदेश अध्यक्ष दिपक थापाले बताउनु भयो ।
फोटो क्याप्सन ः वैज्ञानिक वन महासङ्घ लुम्बिनी प्रदेशको आयोजनामा सम्पन्न सामुदायिक वन दिवस । तस्बिर जानु पाण्डे

By एन टी एन ब्युरो

उस्तै खालका समाचार