सुशिल गैरे कपिलवस्तु,
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले तयार गरेको बुद्धभूमिको ५ बर्षे रोजगार रणनीति योजनाको प्रारम्भिक मस्यौदामाथी छलफल भएको छ। कार्यक्रममा पालिकाका जनप्रतिनीधि, कर्मचारी र सरोकारवालाले बुद्धभूमिमा भएको बेरोजगारी समस्यालाई न्युनिकरण गर्न स्थानीय तहले प्रदेश, संघ र बिभिन्न उद्योग तथा कलकारखाना र रोजगार प्रदायकहरुसंग आवस्यक समन्वय गर्नु पर्नेमा जोड दिएका छन ।
सो मस्यौदामा बुद्धभूमि नगरपालिका भित्र रोजगारको अवसर सिर्जना गरि बढ्दो बेरोजगारी र गरिवीलाइ न्यूनिकरण गर्न नेपालको संबैधानीक र कानूनी व्यवस्था भए बमोजिम प्रत्येक नागरिकलाई रोजगारीको हकको सुनिश्चितताले नागरिकलाइ स्वदेशमै रोजगारीमा संलग्न गराउन संघीय लोकतान्त्रिक व्यवस्था अन्तर्गतका सरकारहरु रोजगार तर्फ केन्द्रित रहेको र आर्थिक वृध्दि र गरिवी न्युनिकरणको आधार नै उत्पानदशिल रोजगारी रहेको उल्लेख गरिएको छ।

नागरिकलाइ न्यूनतम रोजगारीको हकलाइ सुनिश्चित गर्न, उत्पादनशिल रोजगारी र विकासका पुर्वाधारका क्षेत्रमा नेपालको श्रम शक्तिलाइ प्रतिस्पर्धि एबम सुरक्षित रोजगारीमा संलग्न गराइ राष्ट्रिय अर्थतन्त्रलाई सवल र गतिशिल बनाई रोजगारीको हकलाइ व्यवहारिक कार्यान्वयन गर्न स्थानीय तहमा रहेको श्रोत साधन प्रयोग गरि रोजगारिका राष्ट्रिय प्राथमिकता र दिर्घकालिन दृष्टिकोण प्राप्तिमा केन्द्रित हुनु स्थानीय तहले आगामी आ.व. २०८१-०८२ को बार्षिक योजनामा आवस्यक बजेट ब्यबस्थापन गरिने पालिकाका प्रमुख केशव कुमार श्रेष्ठले प्रतिवद्धता जनाए ।
नगर प्रमुख श्रेष्ठले रोजगारी संबैधानिक व्यवस्था र कानूनी प्रावधान तथा संघ, प्रदेश र स्थानीय तहले तर्जुमा गरेका रोजगारी सम्बन्धी नीति, नियम, कार्यविधिलाइ आम नागरिकको जीवनमा रुपान्तरण ल्याउन बुद्धभूमि नगरपालिकामा रोजगार रणनीतिको आवश्यकतालाई पुरा गर्न श्रोत साधनको समुचित र एकिकृत गरी नगरपालिकामा आन्तरिक रोजगारी सिर्जना गर्न सहयोग पुग्नेगरी न्युनतम रोजगारीका कार्यक्रम, उधमशिलता तालिम, व्यवसायिक सिप विकास, सिपयुक्त जनशक्ति परिचालन गर्ने वस्तुगत आधार प्रदान गर्न मस्यौदाले सहयोग गर्नेमा बिश्वास ब्यक्त गरे।

कार्यक्रममा सहभागीहरुले रोजगार नीति, २०७१ ले नेपालमा उपलव्ध श्रम शक्तिलाई प्रतिस्पर्धी वनाउदै श्रम बजारको माध्यमबाट उत्पादनशील, मर्यादित एव सुरक्षित रोजगारीमा संलग्न गराई राष्ट्रिय अर्थतन्त्रलाई सबल र गतिशिल वनाई गरिवी निवारणमा योगदान पुर्याउने उद्धेश्यका साथ मस्यौदा गरिएको रणनीतिलाई आधार बनाई स्थानीय तह, प्रदेश, संघ र रोजगार प्रदायक संघ संस्थाहरुसंग समन्वय र सहजिकरण गर्नुपर्नेमा वडा नं. ४ का वडा अध्यक्ष सुशील कुमार चौधारिले जोड दिए ।
स्थानीय तहबाट संचालन गरिने बिभिन्न ब्यबसायिक सिपमुलक तालिमहरुलाई प्रतिफलमा आधारित बनाउन स्थानीय तहले समेत सम्बन्धित पक्ष, प्रशिक्षार्थी, रोजगार प्रदायकहरुको नियमित रुपमा अगुमन र नियमन गर्नु पर्नेमा बुद्धभूमि नगरपालिकाका प्रधानमन्त्री रोजगार संयोजक रविन चौधरीले जोड दिए।

कार्यक्रममा सहभागी वडा अध्यक्षहरुले स्थानिय निकायमा सुचिकृत भएका श्रमिकलाई सकेसम्म सोही स्थानिय निकायमा संचालित आयोजनामा परिचालन गर्न सकिएको अवस्थामामात्र रणनीतिको प्रभावकारिता बलियो हुने धारणा ब्यक्त गरे । यसैगरी बिषयगत शाखा प्रमुखहरुले छलफलमा सहभागि हुदै स्थानीय तहबाट बितरण गरिने सेवा सुबिधा (जस्तो अनुदानका कार्यक्रमहरु च्याउ को बीउ, गहुको बीउ, कृषि औजार जाडोमा बाडिने कम्बल झुल आदि) न्युनतम रोजगारी पाउन नसकेका श्रमिकलाई प्राथमिकता दिन सकियो भने दोहोरोपन हट्ने तथा आवस्यकता पहिचान गर्न सहज हुनेमा जोड दिए ।

रोजगार संयोजक रविन चौधरीले कार्यक्रमको सहजिकरण गर्दै सकेसम्म स्थानिय आफैले संचालन गरेका बिभिन्न बिकास योजना कार्यहरुमा पालिकामा सुचिकृत बेरोजगार ब्यक्तिहरुलाई संलग्न बनाइएको अवस्थामा “सुचिकृत भएपनि काम पाइदैन” भन्ने स्थानीयको गुनासोलाई केही हदसम्म भएपनि न्युनिकरण गर्न सकिने बताए ।

पालिकाका प्रमुख केशव कुमार श्रेष्ठको अध्यक्षता तथा रोजगार संयोजक रविन चौधरीको सहजिकरणमा पालिकाको सभाहलमा छलफल कार्यक्रम सम्पन्न भएको हो । उक्त तयार गरिएको पालिकाको ५ वर्षे रोजगार रणनीति योजनालाई अझै परिस्कृत गरि नगरसभाबाट पारित गरिने छ। छलफल कार्यक्रममा पालिकाका विषयगत शाखा प्रमुखहरु, वडा अध्यक्ष, कर्मचारी र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

