कपिलवस्तु वैशाख ४ गते ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाले खुला दिसा गर्ने विरुद्ध एक्सन सुरु गरेको छ । पटक पटक शौचालय निर्माण र प्रयोगको अनुरोधलाई अवज्ञा गर्नेलाई बिरुद्ध कडा एक्सन लिएको छ । मंगलबार एक्कासी छड्के चेकिङ सुरु गरे पछि खुला दिसा गर्नेको भागाभाग भएको थियो । खुला दिसा गर्ने १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाउँपालिका र प्रहरी सहितको टोलीले मंगलवार बिहान ५ बजे देखी बस्ती, सडक तथा खेतवारीमा खुला दिसा गर्नेको पहिचान गर्न छड्के अनुगमन गरेको थियो । पालिकाका वास संयोजक अर्जुन बेल्वासेको नेतृत्वमा रहेको टोलीले पाँच वडामा अनुगमन गरेको थियो ।
इलाका प्रहरी कार्यालय गणेसपुरको प्रहरी सहितको अनुगमन टोली देखिए पछि खुला दिसा गर्ने समूहको भागाभाग भएको थियो । प्रहरी नियन्त्रणमा पर्नेमा वडा नम्बर १,२,५,६र ७ का रहेका वास संयोजक बेल्बासेले बताउनु भयो । नियन्त्रणमा पर्नेमा ३ जना भारतीय नागरिक समेत रहेका छन् । उनीहरु पाहुना बन्न विजयनगर आएका थिए । नियन्त्रणमा लिएकालाई शौचालय निर्माण र प्रयोग गर्ने कागज गराई वडा अध्यक्षको जिम्मा लगाउने बताइएको छ ।
पालिकाले वैशाख देखी पूर्ण सरसफाई कार्यान्वयन गरी खुला दिसा मुक्त बनाउन अभियानको रुपमा अगाडी सारेका थियो । ३ महिना सम्म समुदायमा सचेतना अभियान, शौचालय निर्माणको अभियान सञ्चालन गर्दै वैशाख देखी अटेरी गर्नेलाई कारवाही गर्ने योजना अगाडी सारेको थियो । हप्तामा एक दिन छड्के अनुगमन गरी शौचालय प्रयोग नगर्नेलाई कारवाहीको दायरामा ल्याउने पालिकाले जनाएको छ । पालिकाले सरसफाई कार्यविधि निर्माण गरी खुला दिसा गर्नेलाई १ हजार देखी ५ हजार रकम जरिमाना तोकिएको छ ।

