जानु पाण्डे
कपिलवस्तु वैशाख १ गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा थारु संस्कृति प्रवर्धन गर्न बृजा ताल खाना महोत्सव सञ्चालन गरिएको छ । शनिवार देखी नगरपालिकाको वडा नम्बर ९ बक्लीपुरमा रहेको पर्यटन उन्मुख क्षेत्र बृजा ताल सँगै थारु हस्तकला, संस्कृति र खानाको प्रचार प्रसार गर्ने उद्देश्यले महोत्सव सञ्चालन गरिएको छ ।
महोत्सवको समुद्घाटन गर्दै पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य सुरेन्द्रराज आचार्यले थारु संस्कृतिको संरक्षण र संवर्द्धन गर्दै पर्यटन सँग जोड्नु पर्ने बताउनु भयो । हरियाली सामुदायिक वनको स्वामित्वमा रहेको बृजा तालमा पर्यापर्यटनको विकास गर्न र तालको प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटनको विकास गर्न जरुरी देखिएको आचार्यले औँल्याउनु भएको थियो ।
कार्यक्रममा थारु समुदायमा अगुवाहरूले सिँचाइका लागि निर्माण गरिएको ताल अहिले पिकनिक स्पटको रूपमा विकास भएको बताउनु भयो । बक्लीपुर थारु होम स्टेको प्रचार प्रसार र ताल र नजिकको वन क्षेत्रलाई बोटानिकल गार्डेनको रूपमा विकास गर्ने लक्ष्य रहेको हरियाली सामुदायिक वनका अध्यक्ष मिना थारुले बताउनु भयो ।
तिन दिन सम्म चल्ने खाना महोत्सवमा थारु महिलाहरूले उत्पादन गरेका हस्तकलाका सामाग्री, थारु संस्कृति तथा सभ्यता प्रदर्शनी र थारु परिकारको स्वाद चाख्न पाइने आयोजक तथा थारु गायक श्रीनिवास थारुले बताउनु भयो ।

