कपिलवस्तु चैत्र ३० गते । कपिलवस्तु बाणगंगा नगरपालिका ६ भगलापुरका झविन्द्र पौडेलले गाई पालनबाट मनग्य आम्दानी गर्नु भएको छ । वैदेशिक रोजगारी त्यागेर आधुनिक तरिकाले गाई पालन गर्नु भएको पौडेलले मासिक १ लाख बचत गर्दै आउनु भएको छ । पौडेलले वैदेशिक रोजगारीबाट बचत गरेको रकम लगानी गर्दै २०७५ सालबाट व्यवसाय सुरु गर्नु भएको थियो ।
उहाँ २८ महिना कतार र ८ वर्ष कुवेतको बसाइँ त्याग गर्दै डालु पशुपालन फर्म सञ्चालन गर्नु भएको थियो । ‘धेरैले विदेशको कमाइले घर जग्गा जोडे । गाउँबाट राजमार्ग छेउमा बसाइ सरे । त्यो देखेर साथी, भाइ छिमेकीले घरजग्गा किन्न सल्लाह दिए । तर म आत्मनिर्भर हुन खोजे । घरजग्गाको सट्टा गाई पालनमा लगानी गरेको प्रतिफल अहिले मासिक १ लाख बचत भएको छ ।’ पौडेलले बताउनु हुन्छ ।
विदेशमा श्रमिक हुन भन्दा गाई पाल्दा आर्थिक प्रगति भएको उहाँ बताउनु हुन्छ । उहाँले १२ ओटा गाईबाट व्यवसाय सुरु गर्नु भएको थियो । १६ लाखको लागतमा उन्नत जातका आठ ओटा जर्सी र चार होलिस्टोन गाई खरिद गर्नु भएको थियो । अहिले ५० गाईबाट दैनिक १सय २५ लिटर दूध उत्पादन गर्दै आउनु भएको छ ।
दुहुनो गाईबाट दैनिक औसत १५ लिटर दूध उत्पादन भएको छ । औसत ४.२ फ्याट र ८ एसएनएफ भएको दूध सहकारी संस्थाले प्रति लिटर ६५ रुपैयाँमा खरिद गर्दै आएको छ । उहाँले बाणगंगा नगरपालिकाबाट भकारो सुधारका लागि ३० हजार र गोठ सुधारका लागि ५० हजार मात्र अनुदान पाएको बताउनु भयो । गाई र गोठका लागी करिब ४५ लाख रुपैयाँ लगानी गर्नु भएको छ । दुई कामदारलाई रोजगारी दिनु भएको पौडेलले २७ कट्ठा जग्गामा धानको सिजन बाहेकको समयमा बर्सिम र ५ कट्ठामा नेपियर जातको घाँस लगाउनु भएको छ ।

