कपिलवस्तु चैत्र १९ गते ।
तिन दशक देखी परम्परागत रुपमा खेती गर्दै आएका कपिलवस्तु नगरपालिका वडा नं. ६ तिलौराका दरसराम कोँहार यस वर्ष देखी आधुनिक खेती गर्न सुरु गरेका छन् । अघिल्लो वर्ष सम्म खुला आकास र मौसमी खेती गर्दै आउनु भएको उहाँले यस वर्ष देखी बेमौसेमी तरकारी उत्पादन गर्ने उद्धेश्यले खेती सुरु गर्नु भएको छ । लुम्बिनी प्रदेश सरकारको कृषि ज्ञान केन्द्र कपिलवस्तु मार्फत कोहाँरले सेमी हाइटेक नर्सरी स्थापना गरे पछि उहाको कृषि गर्ने शैलीमा परिवर्तन देखा परेको छ ।
सेमी हाइटेक नर्सरीमा तापमान नियन्त्रण गर्न सकिने भएको हुँदा बेमौसेमी खेती गर्न सकिने कोहाँरले बताउनु भयो । नर्सरीमा चारै तिरबाट आवश्यक पर्दा खोल्न र बन्द गर्न मिल्ने गरी फलामको पाईपमा पलास्टिकको प्रयोग गरी टनेल निर्माण गरिएको छ । चिस्यान कायम गर्नका लागि हावा चिसो गराउने (कुलिङ्ग सिस्टम) पंखा समेत रहेका छन् । सिंचाई, आद्रता लागि फोगर समेत जडान गरिएको छ ।
सेमी हाइटेक नर्सरीको मुख्य उद्धेश्य बेर्ना तयार गर्ने रहेको कृषि ज्ञान केन्द्रले बताएको छ । यसको प्रयोगले तरकारी , फलफुल, फुलका गुणस्तरीय बेर्ना तयार गर्न सकिन्छ । सेमी हाइटेक नर्सरीका लागि १८ लाख ५१ हजार ३२० रुपैयाँ लगानी भएको छ । जसमा कार्यालयको तर्फबाट १३ लाख ८८ हजार ४ सय रुपैयाँ नर्सरी निर्माणको लागि अनुदान दिईएको थियो । करिब १ कठ्ठा क्षेत्रफलमा नर्सरी निर्माण गरिएको छ । हाइटेक नर्सरीमा विरुवा उत्पादनका अलवा बेमौसेमी तरकारी खेती समेत गर्न सकिने छ ।
“पहिला यो विषयमा केही थाहा थिएन । यो वर्ष मैले परिक्षणको रुपमा केही विरुवा लगाएको छु । मैले वेर्ना उत्पादन सँग सँगै बेमौसेमी तरकारी खेती गर्ने तयारी गरेको छु । जे राम्रो उत्पादन हुन्छ त्यसैको खेती गर्ने ” कोँहारले भन्नु भयो । कोँहारले १० कठ्ठा क्षेत्रफलमा व्यवसायीक रुपमा तरकारी खेती गर्दै आउनु भएको छ ।
