कपिलवस्तु चैत्र १४ गते ।
कपिलवस्तुमा प्रथम तिलौराकोट गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । चैत्र १७ गते देखी बाणगंगा नगरपालिकामा चल्ने सो फुटबल प्रतियोगिता जिल्लाको सर्वाधिक पुरस्कार भएको प्रतियोगिता रहेको छ । जिल्ला कै पहिलो पटक राष्ट्रिय स्तरको फुटबल प्रतियोगितामा मोफसल र ‘ए’ डिभिजन क्लबको सहभागिता हुने बताइएको छ । बुधवार सम्पन्न पत्रकार सम्मेलन मार्फत खेल हेर्न सम्पुर्ण फुटबल प्रेमीलाई आमन्त्रण गरिएको छ ।
प्रतियोगितामा विजयी हुने टिमले ११ लाख ११ हजार १ सय ११ पुरस्कार पाउने आयोजक कपिलवस्तु फुटबल सङ्घका अध्यक्ष तिलक थापाले बताउनु भयो । दोस्रो हुनेलाई ५ लाख ५५ हजार ५५५ रुपैयाँ र उत्कृष्ट खेलाडीलाई एक लाख नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता सञ्चालन गर्न १ करोड १८ लाख खर्च हुने अनुमान गरिएको छ । जिल्लाका पालिका, प्रदेश खेलकुद विकास परिषद्, प्रायोजन र टिकट बिक्रीबाट रकम सङ्कलन हुने जनाइएको छ ।
प्रतियोगितामा ८ ओटा क्लबको सहभागिता रहने छ । ‘ए’ डिभिजनमा रहेका थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, मच्छिन्द्र क्लब, नेपाल पुलिस क्लब र मोफसलका हनामी बीएफसी चितवन, सुदूरपश्चिम–११, सहारा क्लब पोखरा र आयोजक टिमको प्रतिनिधित्व गर्दै कपिलवस्तु –११ बिच नकआउटका आधारमा खेल हुने थापाले बताउनु भयो ।
खेल सञ्चालनका लागि बुद्ध रङ्गशाला खेल मैदानमा अस्थायी प्याराफिट निर्माणको काम भइरहेको जनाइएको छ । जिल्लामा पहिलो पटक राष्ट्रिय स्तरको खेल प्रतियोगिता सञ्चालन हुँदा स्थानीय खेलाडीलाई ठुला प्रतियोगितामा भाग लिने अवसर जुरेको लुम्बिनी प्रदेश फुटबल सङ्घका उपाध्यक्ष शक्ति सिंह ठकुरीले बताउनु भयो । प्रतियोगिता चैत्र २४ सम्म सञ्चालन हुनेछ ।

