कपिलवस्तुमा बन्दुक फेला

कपिलवस्तु, कात्तिक १३ गते । कपिलवस्तुको एक सामुदायिक वनमा लुकाइछिपाइ राखिएका चार नाल भरुवा बन्दुक फेला परेका छन् । वाणगंगा नगरपालिका–९ भर्लावासस्थित खुतखुते सामुदायिक वनमा बेवारिसे अवस्थामा ती बन्दुक फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय पिपराका अनुसार सामुदायिक वनको ‘लहरे उकाली’ भन्ने स्थानमा बन्दुक लुकाएर राखिएको गोप्य सूचना प्राप्त भएको थियो । सूचनाका आधारमा प्रहरी निरीक्षक कालिका कार्कीको कमान्डमा नौ जनाको प्रहरी टोली शुक्रबार अपराह्न करिब ४:२५ बजे उक्त क्षेत्रमा पुगेको थियो ।

प्रहरीले खोजतलास गर्दा काठको गोलियाको धोँद्रोभित्र स्याउला र पातले छोपेर लुकाइराखेको अवस्थामा चार नाल एकनाले भरुवा बन्दुक फेला पारेको हो । बरामद गरिएका चारवटै बन्दुक साबुत अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

बेवारिसे अवस्थामा फेला परेका बन्दुक कसले र कुन प्रयोजनका लागि वनमा लुकाएर राखेको हो भन्ने खुलेको छैन । प्रहरीले बन्दुक बरामद गरी इलाका प्रहरी कार्यालय पिपरामा राखेको छ ।

बन्दुक लुकाउने व्यक्तिको पहिचान तथा घटनाको उद्देश्यबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बन्दुक फेला परेको स्थान इलाका प्रहरी कार्यालय पिपराबाट करिब १९/२० किलोमिटर उत्तरपश्चिममा पर्छ ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार

//uplcm.com/4/6824010